बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान खसेकाे छ। बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए ।
यसैबीच निर्वाचन विथोल्ने कार्य गरेको भन्दै देवताल गाउँपालिका–७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउपर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका-४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका–१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका–४ निवासी ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका–४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका–७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिए ।
उक्त क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।





























प्रतिक्रिया