मनाङ–मर्स्याङ्दी क्लबले जारी सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार पाँचौ हार बेहोरेको छ ।
एन्फा कम्प्लेक्समा विभागीय टाेली नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले यो सिजनको लिगमा लगातार पाँचौ हार बेहोरेको हो । क्लब इतिहासमै मनाङको यो सबैभन्दा खराब नतिजा हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँचौ खेलमा हार बेहोरेको थिएन ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङलाई हार चखाउन पहिलो हाफमा भारतीय फरवार्ड मोहम्मद आशिकले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । पेनाल्टी बक्समा मोसेसलाई रन्दिप पौडेलले फउल गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद चुकेनन् । उनी लिगको डेब्युमै गोल गर्ने खेलाडी बने । पुलिसले त्यही अग्रतालाई जोगाउँदै मनाङलाई पाँचौं हार चखायो ।
सुरुवाती ७ खेलमा अपराजित रहेको मनाङले त्यसपछि पुलिससँगै सातदोबाटो, जावलाखेल, आर्मी र खुमलटारसँग हार बेहोर्यो । यस हारसँगै मनाङको १२ खेलबाट १५ अंकमा सीमित हुँदै आठौं स्थानमा यथावत छ । मनाङलाई हराएको पुलिस १२ खेलबाट ९ अंक जोडेर पुछारमा छ ।





























प्रतिक्रिया