प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले बधाई दिएका छन् ।
सार्वजनिक अन्तिम परिणामअनुसार कुल सदर मतको १० प्रतिशत मतसमेत नकटाएर जमानत जफत भएका खरेलले यादवलाई बधाई दिँदै निर्वाचनको परिणाम जस्तोसुकै आएको भएपनि आफू इमान्दारीपूर्वक नेपाल आमाको सेवामा लागिनै रहने बताएका हुन् ।
‘बारा २ बाट विजयी हुनुभएका उपेन्द्र यादव ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गर्दछु। निर्वाचनको परिणाम जस्तो सुकै आएको भएता पनि म इमान्दारीता पूर्वक नेपाल आमा र नेपाली दिदी बहिनी तथा दाजुभाईहरुको सेवामा लागि नै रहनेछु।’ उनले भनेका छन् ।
गत आइतबार भएको उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो । जसमा रास्वपाका खरेलले दुई हजार आठ सय २९ मत मात्रै पाए । जुन कुल सदर मतको १० प्रतिशत भन्दा कम हो । खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ ।
जसपाका अध्यक्ष यादवले निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाए ।































प्रतिक्रिया