बहराइनविरुद्ध ८ विकेटको सहज जित निकाल्दै यूएई एसिसी प्रिमियर कपकाे सेमिफाइनल प्रवेश गरेको छ । याेसँगै अन्तिम चारमै उपाधिका प्रमुख दावेदार टोलीहरु यूएई र घरेलु टोली नेपालबीच महाभिडन्त पर्ने सम्भावना उच्च भएको छ ।
बहराइनले प्रस्तुत गरेको ११६ रनको लक्ष्य यूएईले २७.४ ओभरमा सहजै पूरा गरेको हो । यूएईका लागि दुई खेलाडी वृति अरविन्द र रोहन मुस्तफाले अर्धशतक बनाए । यस्तै, आर्यन लाक्रा ५ र मुहम्मद वासिमले १ रन मात्र जोड्न सके ।
त्यसअघि आयान खानको चार विकेटप्रेरित यूएईले बहराइनलाई एक सय १६ रनमा सीमित गरेको थियो। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर एक सय १६ रन मात्रै बनाउन सकेको थियो। यूएईको कसिलो बलिङसामू निरीह बनेको बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले २३–२३ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
यूएईका लागि १० ओभरमा आयानले सात मेडनसहित ६ रन मात्रै खर्चिँदा शानदार चार विकेट लिए। यस्तै, रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले समान दुई–दुई तथा जहुर खानले एक विकेट लिए।
जितसँगै समूह बी को युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । तर, युएई समूह विजेता बन्ने वा उपविजेता बिहीबार कुवेत र हङकङसँगको नतिजापछि निर्धारण हुनेछ । हङकङ ५ अंकका साथ दोस्रो स्थानमा रहँदा कुवेत ४ अंकका साथ तेस्रो स्थानमा छ ।
त्यस्तै, समूह ए बाट नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । सो खेलमा जित निकालेको खण्डमा नेपालले समूह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।































प्रतिक्रिया