राष्ट्रपति रनिङ शिल्डः सुजल र आरुषीलाई स्वर्ण

राष्ट्रपति रनिङ शिल्डः सुजल र आरुषीलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको स्वर्ण जित्ने छात्र तथा छात्रातर्फको पहिलो खेलाडी बनेका छन् । 

उनीहरुले एथलेटिक्स तर्फको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील वलीले कांस्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पारे ।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो भए ।

छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाईं नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाईं नाघेकी गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य प्राप्त गरे । 

तीनदिने प्रतियोगितामा सात प्रदेशका १ सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डको औपचारिक आरम्भ भने आज साँझ साढे पाँच बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने भएका छन् । 

Logo