एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री पाण्डे

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । 

उनले  उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । “प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ”, उनले भने  ।

पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । 

मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे । 

आज मुख्यमन्त्री पाण्डेसँगै दुई नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुशीला सिम्खडा र नेपाली कांग्रेसका सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । । 

Logo