झण्डै एक महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचिवालय र स्थायी कमिटीका बुहमत सदस्यले प्रधानमन्त्री पदबाट राजीनामा माग गरे । त्यसपछि पार्टीभित्रका दुई वटा कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीको कुर्सी धर्मराएको थियो ।
तर, सर्वत्र कमजोर देखिएका ओली यतिबेला फेरि शक्तिशाली बनेका छन् । पार्टी कमिटीभित्र देखिएको ओलीविरुद्धको माहोल अब मत्थर भएको छ । न त उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो न पार्टी अध्यक्ष नै छोड्नु पर्यो । आखिर कसरी ओलीकै हात माथि पर्ने स्थिति आयो ? यसका पछाडि ओलीले खेलेका केही राजनीतिक कार्डको ठूलो भूमिका छ ।
ओलीलाई राजनीतिमा चतुर खेलाडी मानिन्छ । यसपटक उनको खेलेको अब्बलता झन् स्पष्ट भयो । आफूमाथि आइपरेको निकै ठूलो संकट उनले चतु¥याईपुर्वक टारिदिएका छन् । जसका कारणको उनको प्रधानमन्त्रीको कुर्सी त जोगिएकै छ, पार्टीभित्र पनि उनलाई बाइपास गरेर जान नसकिने मत प्रभावी बनेको छ ।
आफूमाथि आइपरेको संकट टार्न ओलीले तीन तीनवटा कार्ड खेले । के के हुन् ती कार्ड ?
१. भारतीय षड्यन्त्रको हौवा
अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल लगायतले आफूविरुद्ध घेराबन्दी गरेपछि संकटमा परेको संकेत ओलीले पाइसकेका थिए । स्थायी कमिटीको जारी बैठकको सुरुको दिनमै अध्यक्ष दाहालले ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने खालको अभिव्यक्ति दिएपछि ओलीले स्थायी कमिटी बैठक आफू अनुकुल नहुने बुझिसकेका थिए ।
त्यसैले उनले असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नया“ नक्सा जारी गरेका कारण आफूलाई हटाउन भारतीयहरुको षड्यन्त्र भइरहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिए । राजदूत र कतिपय राजनैतिक नेताहरु यो भारतीय षड्यन्त्र सफल पार्न लागिपरेको र होटलहरुमा भेटघाट गर्दै हिडिरहेको ओलीले उल्लेख गरे । ओलीको यो अभिव्यक्तिले नेपाल र भारत दुबैतर्फ तरंग ल्यायो । नेकपा बैठकमा ओली अभिव्यक्तिको प्रष्टीकरण मागियो ।
खासमा ओलीले आफूमाथि आइपरेको संकटबाट जोगिन भारतीय षड्यन्त्रको कार्ड प्रयोग गरेका थिए । किनकी उनले यस्तो बेलामा आफूलाई हटाए त्यो भारतीय षड्यन्त्र भित्रको एउटा अंश हुने थियो जुन सुरुमै बताएर राजीनामा माग्ने नेताहरुलाई डिफेन्सिभ बनाइदिए । राजीनामा गराउने दिशामा जाँदा भारतीय गोटीको रुपमा आफूहरु प्रयोग भएको भन्ने ढंगले ओली अघि बढ्ने भएपछि अध्यक्ष दाहाल र नेता नेपाललाई यो कुराले झस्कायो । त्यसैले भारतीय षड्यन्त्र भन्ने ओली कार्डले दाहाल र नेपाल रक्षात्मक बन्ने स्थिति आयो ।
२. पार्टी विभाजनको धम्की
प्रधानमन्त्री ओलीले जब स्थायी कमिटीको मत आफू अनुकुल नहुने देखे त्यसपछि अर्को कार्ड अघि सारे– पार्टी विभाजन । उनले अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर धेरैवटा बैठकमा ‘तपाईसँग बुहमत छ, मलाई कारवाही गरेर देखाउनुहोस्’ भन्दै चेतावनी दिए ।
कारवाही गरे आफूले तत्काल पार्टी विभाजन गर्ने स्पष्टरुपमै भनिदिए । प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने उनको अडान कायमै रह्यो । ओलीले यतिसम्म गरे कि आन्तरिक रुपमा आफू पक्षीय नेताहरुको भेला गरेर जुनसुकै परिस्थिति आउने सक्ने भएकाले तयार रहन निर्देशन थिए । त्यस्तै सबै मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर को कता लाग्ने हो कित्ता क्लियर गर्न निर्देशन दिए । अनि आफू निकट मन्त्रीहरुलाई आफ्नो पक्षमा उभिन भने ।
आफू निकट युवा र विद्यार्थीहरुलाई गोप्यरुपमा सडकमा प्रदर्शन गराएको आरोप पनि उनीमाथि लाग्यो । जब पार्टी विभाजनको दिशामा जाने खालको स्थिति देखिएको जस्तो भयो दाहाल र नेपाल नै बढी अप्ठेरोमा परे । ओलीले पद नछोड्ने र पार्टीबाट फिर्ता बोलाउदा पार्टी नै विभाजन हुने जोखिम बढ्यो ।
दुईवर्ष अघि मात्रै बनेको पार्टी फेरि विभाजनको दिशामा जाँदा त्यसको असर ओलीलाई मात्र होइन दाहाल र नेपालमा पनि पर्थ्यो । पार्टी विभाजनको दोष दाहाल र नेपाललाई पनि जान्थ्यो । प्रधानमन्त्री ओली पार्टी विभाजन हुन सक्ने धम्कीको ‘कार्ड’ दाहाल र नेपाललाई ठेगान लगाउन नै खेलेका थिए । किनभने दाहाल र नेपाल पार्टी विभाजनको हुनसक्ने तहसम्मको स्थितिमा जान सक्दैनन् भन्ने मुल्यांकन गरेका थिए ।
त्यसैले उनले दाहाल र नेपालसँगको मनोबैज्ञानिक युद्ध जित्न अहिले नै पार्टी फुटाइदिन्छु भन्ने जसरी प्रस्तुत भएका थिए । त्यसपछि स्थिति यस्तो बन्यो कि सबै समूहका नेताहरु विभाजनको तहसम्म विवादलाई लैजानु हुँदैन भन्ने विन्दुमा आइपुगे । जुन मतको फाइदा ओलीलाई नै पुगेको छ ।
३. अर्लि महाधिवेशन
प्रधानमन्त्री ओलीले खेलेको अर्काे कार्ड हो–अर्लि महाधिवेशनको । गत माघको केन्द्रीय कमिटी बैठकले आउदो चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर ओलीले त्यो भन्दा पा“च महिना अगाडि नै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरे ।
आफूलाई हटाउने हो भने महाधिवेशनबाट हटाउन र प्रधानमन्त्रीबाट हटाउन अर्को चुनाव कुर्नुपर्ने जवाफ ओलीले दाहाललाई दिएका थिए । पार्टीमा नेतृत्व चयन गर्ने औपचारिक फोरम महाधिवेशन हो । यो बैधानिक फोरमबाट पार्टीको नेतृत्व चयन होस् भन्ने ओलीको कुरा अहिलेका लागि रणनीतिक नै थियो । तर महाधिवेशन बैधानिक थलो भएकाले त्यसलाई नकार्नु विधि पद्धतिको कुरा गर्ने कुनै पनि नेताका लागि सुहाउँदो बिषय थिएन ।
त्यसैले ओलीले भनेको अर्लि महाधिवेशनको प्रस्ताव दाहालले स्वीकारे । दाहालले मंसिरमा हुन नसक्ने महाधिवेशन स्वीकारेको बिषयमा उनको समूहमा आलोचना पनि भयो । माधव नेपाल लगायत नेताहरुले त तत्क्षण विरोध पनि गरे । तर ओलीले यस्तो तुरुप फ्या“किदिए कि योबाट भाग्नका लागि दाहाल र नेपाल दुबैलाई सहज भएन । त्यसैले सकेसम्म छिटो महाधिवेशन गर्ने भन्ने तर्फ सबै नेताहरुको मत बनेको जस्तो देखिएको छ ।
महाधिवेशन मंसिरमा गर्ने कुरा ओलीले रणनीतिक हिसाबले नै ल्याएका थिए । त्यही रणनीतिक कुराले दाहाल र नेपाल नै त्यसको वरिपरि घुम्नुपर्ने अवस्था आयो । दाहाल पक्षका नेताहरुले ओली र नेपाल दुवैलाई मिलाएर जानुपर्ने भन्दै दाहाललाई दवाव दिएका छन् । उता नेपाल पक्षका नेताहरु पनि अब एकता जोगाउनका लागि महाधिवेशनसम्म मिलेर जानुपर्ने कुरा गर्न थालेका छन् ।
त्यसैले नेकपाको पछिल्लो विवाद र आइपरेको संकट ओलीले क्रमशः खेलेका यी तीन वटा रणनैतिक कार्डले टारेको छ । अहिले संकट टरे पनि ओलीले आफ्नो कार्यशैलीमा विगतमा गरेका केही कमजोरीहरुलाई सुधारेनन् भने जुनसुकै वेला संकटको घण्टी फेरि बज्न सक्छ ।





























प्रतिक्रिया