काठमाडौं ।
नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।
सेवा प्राप्त भए पश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने उनले बताए।
‘कल ट्रान्सफर’ वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैँले परिवर्तन गर्न सक्छन् । यो सुविधा देशभरका टेलिकमका ल्यान्ड लाइन नम्बरमा उपलब्ध छ । सबै सुविधा सक्रिय र निष्क्रिय बनाउन आफ्नो एक्सचेन्ज अनुरुप केही कि वर्ड डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजीकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ‘एनटिसी डट नेट डट एनपी’ बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनाका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएका बेला टेलिकमको यो सेवाले ग्राहकलाई राहत दिएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई बिस्तारै आत्मसात् गरिँदैछ ।
यस्तो अवस्थामा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा टेलिकमले उपलब्ध गराएको ‘कल ट्रान्सफर’ सुविधाले केही राहत दिन सक्छ ।
टेलिकमका तारवाला टेलिफोनमा आउने फोन अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले ‘कल ट्रान्सफर’ गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।





























प्रतिक्रिया