निरुको हत्यापछि एक साता काठमाडौंमै बसेका थिए विनोद, सिक्री ५५ हजारमा बेचे

निरुको हत्यापछि एक साता काठमाडौंमै बसेका थिए विनोद, सिक्री ५५ हजारमा बेचे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालक निरु भन्ने नीरा पाण्डेको हत्या गरेपछि विनोद विक एक सातासम्म काठमाडौंमै बसेको खुलेको छ।

हत्या आरोपी विनोदलाई सार्वजनिक गर्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले घटनापछि उनी भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा एक साता अघिदेखि बसेको खुलेको जानकारी गराएका हुन् ।  

चाबहिलको एक डिस्कोमा बाउन्सरका रुपमा काम गरिरहेका विनोदले निरुलाई लुट्नकै लागि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सो क्रममा उनले निरुले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ पनि निकालेका थिए । उक्त सिक्री तारकेश्वरस्थित एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘घटनास्थलबाट उनी सफा ट्याम्पोमा चढेर ओम अस्पताल पुगेको भेटिएको छ। त्यहाँबाट बाइक चढेर जडीबुटी झरेपछि लोकन्थली साथीकै घरमा बसेका रहेछन्। घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ ।’ एसएसपी आचार्यले भने, ‘लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले त्यसलाई बरामद गरेका छौँ।’

झापामा क्यासिनोमा काम गर्दा विनोदलाई जुवा खेल्ने लत बसेको र उनलाई तीन लाख रुपैयाँ ऋण लागेपछि काठमाडौं आएको बताइएको छ । त्यसपछि सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि उनी लुटपाटमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । निरुको परिवारसँग यसअघि विनाेदको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ ।

कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा भाँडा व्यवसायी निरुको चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको थियो । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको थियो । शनिबार झापाबाट पक्राउ परेका विनोदलाई आइतबार काठमाडौं ल्याइएको हो । प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेका छन् । 

Skip This
Skip This
Logo