जग्गा नापजाँच शुरू भएपछि स्थानीय खुशी

जग्गा नापजाँच शुरू भएपछि स्थानीय खुशी

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी शुरू भएको छ ।

नगरपालिकाको वडा नम्बर १ सेतापानीबाट नापीको काम शुरू भएको हो ।नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम शुरू गरेपछि स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन् ।

सेतापानीमा विक्रम संवत् २०६१/६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम नै शुरू हँुदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताइन् ।

मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुगेकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको संघर्ष निकै कहालीलाग्दो भएको स्मरण गरिन्।

‘स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्द्वकाल थियो निकै डर लाग्थ्यो,’ उनले भनिन्, ‘के गर्ने उता नारायणीले बगायो । यही सबै सहेर बसेको, अब त नापीको काम शुरू भयो । मेयर सरहरू पनि आउनुभएको छ। अब चाहिँ जग्गा पाउँछ भन्ने विश्वास लागेको छ ।’

स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने बताइन् । १९ वर्षदेखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउँदा खुशी लागेको स्थानीय राधिका चौधरीले सुनाइन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम शुरू भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।

‘नगरपालिकाको सबैभन्दा बढी भूमिसम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरू गरिएको छ,’ उनले भने, ‘जहाँ ४० भूमिहीन दलित, ७३ भूमिहीन सुकुम्बासी र ६४३ अव्यवस्थित बसोवासीले समास्या समाधानका लागि फारम भरेका छन् ।’

मध्यविन्दु–१ बाट शुरू भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी २ स्थानबाट एकैसाथ अगाडि बढाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख अधिकारीले बताए । लामो समयदेखि राजनीतिक मुद्दामा सीमित बनेको भूमिसम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताए ।

Skip This
Skip This
Logo