यस्तो छ आईपीओ जारी गरेको घोराही सिमेन्टको वित्तीय अवस्था

यस्तो छ आईपीओ जारी गरेको घोराही सिमेन्टको वित्तीय अवस्था

केन्द्रबिन्दु
0
Shares

घोराही सिमेन्टले साधारण सेयर आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि आईपीओ निष्कासन गरेको हो ।   घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति पाएको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  आवेदन दिन सकिने जनाएको छ । उनीहरूले प्रतिसेयर ४ सय रुपैयाँमा सेयर खरिद गर्न सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रति सेयर  १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरि प्रति सेयर ४ सय रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।  

त्यस्तै, सर्वसाधारणको लागि प्रतिसेयर १०० रुपैयाँ दरले निष्कासनमा प्रिमियम ३३५ सय  रुपैयाँ थप गरि प्रति सेयर ४३५ रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जनाएको हो ।  

कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले ७९ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७९ लाख ७३ हजार ८०१ कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।

कम्पनीले जारी पुँजीको १ प्रतिशतले हुने ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले तीन लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।

उक्त सेयरमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९ तथा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतै प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा एक लाख कित्तासम्मका लाग आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले २ जेठसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि १७ जेठसम्म थप हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने २ जेठभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।

आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैकमार्फत आवेदन दिन सक्ने कम्पनीको भनाई छ ।

त्यस्तै, नेपाल एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदनको लागि दरखास्त फारमबाट बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक, वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख गरेको छ । 

घोराही सिमेन्टको वित्तीय अवस्था 
नेपालको स्थापित व्यापारिक घराना त्रिवेणी समूहले प्रवर्द्धन गरेको घोराही सिमेन्ट २०६४ साउन २१ गते स्थापना भएको कम्पनी हो । क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगबाट उत्पादित सिमेन्टले  नेपाल गुणस्तर तथा नापतौल विभागबाट २०७९ असार २३ गते सगरमाथा ओपीसी ५३ ग्रेड नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

त्यसैगरी, २०७८ श्रावण ५ गते सगरमाथा गोल्ड पीपीसी र सगरमाथा ओपीसीमा नेपाल गुणस्तर चिन्ह प्रयोग इजाजत समेत प्राप्त गरेको छ । यो कम्पनीले नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट समेत नियम बमोजिम अनुमति लिई देशका विभिन्न स्थानहरूमा अनुसन्धानात्मक कार्यहरू नियमित रुपमा गर्ने गरेको छ ।

उद्योग विभागबाट विभिन्न मितिमा, पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम घोराही, सगरमाथा, सगरमाथा गोल्ड, नामक ट्रेडमार्क प्रयोग अनुमति सम्झौताको स्वीकृतै लिएको कम्पनीले जनाएको छ । यो कम्पनीले पश्चिम नेपालको घोराही उपमहानगरपालिकामा सिमेन्ट उद्योग संचालन गरिरहेको छ ।

Logo