चक्रपथको चप्पल कारखाना-धोबीखोला खण्डमा ठेक्का आह्वान

चक्रपथको चप्पल कारखाना-धोबीखोला खण्डमा ठेक्का आह्वान

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । चक्रपथअन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको १ किलोमिटरमा सडक विस्तार गर्न भन्दै ३२ असारमा ठेक्का आह्वान गरिएको छ। २१ साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब ५१ करोड भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए। समयमै ठेक्का लागे दसैंअगाडि नै काम सुरु हुने उनले जनाए।

उक्त खण्डमा सर्भिससहित आठ लेनको सडक बनाइने देवकोटाको भनाइ छ। ‘ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्र काम सकिन्छ,’ उनले भने। धोबीखोला पुलबाट दुई सय मिटर वरै (सुकेधारातर्फ) सम्म सडक विस्तार गरिँदै छ। धोबीखोलामा नयाँ पुल बनाउँदा पहुँच सडक चाहिने भएकाले दुई सय मिटर राखिएको देवकोटाले बताए। ‘धोबीखोलामा नयाँ पुल बनाउने गरी अध्ययन भइरहेको छ। चालु आर्थिक वर्षभित्रै ठेक्का गर्ने तयारी छ,’ उनले भने, ‘पुल बनाउँदा बाँकी रहेको दुई सय मिटर सडक बनाउँछौं।’

२७ किलोमिटर दूरीको चक्रपथ विस्तार अझै पूरा हुन सकेको छैन। अहिलेसम्म ११.०९ किमि मात्र विस्तार सकिएको छ। अझै १५.९१ किमि विस्तारमा अन्योल छ। बसुन्धरादेखि नारायणगोपाल चोकसम्मको करिब ६ सय मिटर सडक खण्डमा पर्ने घरटहरा भत्काउन समस्या भएपछि काम हुन सकेको छैन। कलंकीदेखि नारायणगोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारबाट सरकारी निकायसँग छलफल गरिएको भए पनि उक्त क्षेत्रमा घरलगायत संरचना भत्काउन समस्या देखेपछि चीन पछि हटेको थियो।

कलंकीदेखि नारायणगोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारबाट सरकारी निकायसँग छलफल गरिएको भए पनि उक्त क्षेत्रमा घरलगायत संरचना भत्काउन समस्या देखेपछि चीन पछि हटेको थियो। अहिले चीनले कलंकीदेखि बसुन्धरा कल्भर्ट नजिकसम्म मात्र सडक विस्तार गर्ने योजना अघि सारेको र त्यहीअनुसार प्रक्रिया अघि बढाइएको हो।

चक्रपथ तेस्रो खण्डको ७ सय मिटर विस्तार भने नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिसकेको छ। तेस्रो खण्डअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको विस्तार थालेको १३ महिनामै काम सकिएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार उक्त खण्डमा सर्भिस लेनसहित ८ लेनमा सडक विस्तार गरिएको छ।

धोबीखोलामा नयाँ पुल बनाउन भन्दै गरिएको अध्ययन सकिएपछि पुल निर्माणको लागत अनुमान निस्कनेछ। चाबहिलदेखि पिंगलास्थान खण्डको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरिरहेको प्रमुख देवकोटाले जनाए। ‘जाइकाले ६ महिनादेखि यस खण्डको अध्ययन गरिरहेको छ, उक्त खण्डमा फ्लाईओभर वा सुरुङ के बनाउन सकिन्छ, अध्ययन रिपोर्ट फाइनल भएपछि थाहा हुन्छ,’ देवकोटाले भने, ‘बसुन्धरादेखि नारायणगोपाल चोकको भाटभटेनीसम्म अन्डरपास निर्माण गर्न गरिने अध्ययनलाई चालु वर्षमा बजेट विनियोजन राखिएको छ, त्यसैले चालु आर्थिक वर्षमै यसको अध्ययन टुंग्याउँछौं।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चक्रपथ भएर दिनको ४ सयदेखि ५ सय हाराहारी यात्रुवाहक सवारी साधन गुड्छन्। बढ्दो सवारी चापले गर्दा दैनिक ट्राफिक जाम हुने गरेको छ। नारायणगोपाल चोकदेखि धोबीखोला पुलसम्म नै तेस्रो खण्डमा विस्तार गर्न सकिन्थ्यो। बजेट अभावमा उक्त खण्डसम्म काम गर्न नसकिएकाले अहिले चौथो खण्डको रूपमा विस्तार गर्ने गरी ठेक्का आह्वान गरिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।

चक्रपथअन्तर्गत २०६९ सालमा १०.४ किमि दूरीको पहिलो खण्ड कोटेश्वर–कलंकीको विस्तार थालिएको थियो। माघ २०७५ मा उक्त खण्डको काम सकेर चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त खण्ड चीन सरकारको ५ अर्ब अनुदान सहायतामा निर्माण भएको हो।

Logo