सर्वाधिक कमाउने खेलाडीको सूचीमा फुटबलरकै दबदबा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा फुटबलरकै दबदबा

केन्द्रबिन्दु
0
Shares

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको पछिल्लो सूची अनुसार, ३८ वर्षीय रोनाल्डो सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

सर्वाधिक कमाउने खेलाडीहरूको सूचीमा माथिल्लो तीन स्थान फुटबल खेलाडीले ओगटेका छन् । साउदी अरेबियन क्लब अल नसरका स्ट्राइकर रोनाल्डोको पछिल्लो एक वर्षको अवधिमा १३ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेका छन् ।

रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । सोही अवधिमा मेसीले १३ करोड अमेरिकी डलर आम्दानी गरेका छन् ।

तेस्रो स्थानमा रहेका फ्रान्सेली फुटबलर केलियन एमबाप्पेको आम्दानी १२ करोड अमेरिकी डलर रहेको छ । फोर्ब्सको पछिल्लो सूची अनुसार, चौंथो स्थानमा रहेका अमेरिकी बास्केटबल स्टार लेबरोन जेम्सले पछिल्लो एक वर्षको अवधिमा ११ करोड ९५ लाख अमेरिकी डलर आम्दानी गरेका छन् ।

पाँचौं स्थानमा भने मेक्सिकन मुक्केबाज कानेलो अल्भारेज रहेका छन् । उनले यस अवधिमा ११ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । १० करोड ७० लाख अमेरिकी डलर कमाउँदै गल्फ खेलाडी डस्टिन जोन्सन छैटौं र १० करोड ६० लाख अमेरिकी डलर कमाउँदै अर्का गल्फ खेलाडी फिल मिकेल्सन सातौं स्थानमा छन् ।

बास्केटबल खेलाडी स्टेफन करी १० करोड ४ लाख अमेरिकी डलर कमाउँदै आठौं, टेनिस खेलाडी रोजर फेडेरर ९ करोड ५१ लाख अमेरिकी डलर कमाउँदै नवौं र बास्केटबल खेलाडी केभिन डुरान्ट ८ करोड ९१ लाख अमेरिकी डलर आम्दानी गर्दै दशौं स्थानमा रहेका छन् ।

Logo