यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ दीप श्रेष्ठ र शक्ति बल्लभलाई

यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ दीप श्रेष्ठ र शक्ति बल्लभलाई

केन्द्रबिन्दु
0
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा प्रदान गरिदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ यस वर्ष गायनतर्फ वरिष्ठ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । 

ललितपुरस्थित स्क्वायर होटलमा शनिबार आयोजना गरिएको सम्मान कार्यक्रममा दुवैजनालाई दोसल्ला, ताम्रपत्रसहित ५०/५० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको हो । 

त्यस्तै गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई दिन सुरु गरिएको ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिएको छ । तबलावादक  सिंहलाई रु २५ हजार प्रदान गरिएको हो ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । नेपाली गीत संगीतको क्षेत्रमा अनवरतरूपमा पु-याएको योगदानलाई उच्च मूल्याङ्कन गरी गायनतर्फ वरिष्ठ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई सम्मान गरिएको प्रतिष्ठानका सञ्चालक तथा लोकप्रिय गायक/संगीतकारद्वय सत्य-स्वरूपराज आचार्यले बताए । 

त्यस्तै, वरिष्ठ गायक दीप श्रेष्ठ र वरिष्ठ संगीतकार शक्ति बल्लभले सम्मान प्राप्त गरेकोमा आफू एकदमै खुसी भएको बताए । नेपाली गीतसंगीतको संरक्षण गर्न अहिलेको पुस्ताका युवा कलाकारहरुले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

नेपालका वरिष्ठ गायकगायिका तथा संगीतकारहरुको बाक्लो उपस्थिती रहेकाे कार्यक्रममा सत्य-स्वरूपराजले ‘उकाली ओराली गर्दै’,‘जहाँ छन् बुद्धका आँखा’ आदि गीति प्रस्तुति दिएका थिए । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

Skip This
Skip This
Logo