किन अन्तिम समयमा रोकियो आईजीपी कुँवरको अमेरिका भ्रमण ?

किन अन्तिम समयमा रोकियो आईजीपी कुँवरको अमेरिका भ्रमण ?

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ।

लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी हुनका लागि आईजीपी कुँवर नेतृत्वको ६ सदस्यीय टोलीलाई अमेरिका भ्रमणमा जान सरकारले स्वीकृति दिएपनि अन्तिम समयमा आफैले सो भ्रमण रद्द गरेका हुन् । 

स्रोतका अनुसार नक्कली भूटानी शरणार्थी प्रकरणमा हाईप्रोफाइलहरुमाथि अनुसन्धान जारी रहेको र मुलुककाे प्रहरी प्रमुख नै भ्रमणमा निस्केर त्यसलाई प्रभावित नपारोस् भन्नकै लागि आइजिपी कुँवरले तत्काललाई अमेरिका भ्रमण स्थगित गरेको बताइएको छ । 

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ उठाएको विषय अहिले सर्वाधिक चासोमा छ । यो प्रकरणमा मुछिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । जसमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' का सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन् । त्यस्तै, टोपबहादुर रायमाझी लगायतका केही व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ। अहिले ती फरार छन्।

साथै यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी सांसद मञ्जु खाण तथा कांग्रेस सांसद आरजु राणाको नाम पनि मुछिएको छ।

आइजिपी कुँवरले भ्रमण रद्द गरेसँगै एआइजी किरण बज्राचार्यको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ। सो टोलीमा एआइजी बज्राचार्यसँगै एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायब महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले विदाइ गरेका थिए । 

Logo