नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन निक्षेपसंगै कर्जाको ब्याजदर पनि घटनुपर्ने व्यवस्था सहित ऋणको पुर्नसंरचना एवंम् पुर्नतालिकीकरण तथा पुर्नकर्जा सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसंग आग्रह गरेका छन् ।
महासंघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९।८० को चौथो त्रैमासिक समिक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष ढकालले निक्षेपको व्याजदर घटेसंगै तत्काल कर्जाको व्याजदर पनि घटाउन आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन् ।
आर्थिक गतिविधिहरु शिथिल हुंदा उद्यमी व्यवसायीहरुमा ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुंदै गएको, बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल, पुनर्कर्जा, कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण गर्न आग्रह गरे ।
बैंकिंग प्रणालीमा करिब दुई खर्ब रुपैया तरलता उपलब्ध हुँदाहँुदै पनि कर्जा प्रवाह हुन नसकेको भन्दै अध्यक्ष ढकालले यसलाई सम्बोधन गर्न ब्याजदर कम गर्ने उपाय स्वरुप तत्काल नीतिगत दर, बैंकदर सिआरआर घटाउने लगायतका नीतिगत निर्णयमा पुग्न पनि राष्ट्र बैंकसंग आग्रह गरे ।
यसैगरी निर्माण, उत्पादनमूलक उद्योग एवं साना तथा मझौला उद्योगहरुको लागि पुनकर्जाको व्यवस्था गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे । तरलता व्यवस्थापनका लगि कर्जा निक्षेप अनुपातमा पनि समय सापेक्ष सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
रेमिट्यान्स कम्पनीहरुलाई देशभित्र आन्तरिक रेमिट्यान्स पठाउन वन्द गरिएको हुदा आम सर्वसाधारणको सहजताका लागि त्यसलाई खुला गरिनुपर्ने राय महासंघको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तत्काल कार्यान्वयनमा लैजान सकिने सुझावहरुलाई गम्भिरतापूर्वक लिएर पूरा गर्ने विश्वास दिलाए ।































प्रतिक्रिया