काठमाडौं। मिस नेपाल २०२६ की प्रतिस्पर्धी कशिश सुब्बा लिम्बुले प्रतियोगिताको यात्रा आफ्नो जीवनको महत्वपूर्ण मोड बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई व्यक्तिगतरूपमा निकै परिपक्व र आत्मविश्वासी बनाएको अनुभव सुनाएकी हुन्।

सञ्चारमाध्यमसँग कुरा गर्दै कशिशले मिस नेपालको मञ्चले आफ्ना क्षमता पहिचान गर्ने र आफूभित्रको सम्भावनामा विश्वास गर्न सिकाएको बताइन्। यो यात्राले चुनौतीसँग जुध्ने साहस, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

‘यो प्रतियोगिताले मभित्र लुकेको क्षमता चिन्ने अवसर दिएको छ। आज म कुनै पनि लक्ष्य हासिल गर्न सक्छु भन्ने विश्वास बढेको छ,’ उनले भनिन्।
फेसन मोडल, फेसन स्टाइलिस्ट र फेसन डिजाइनर बन्ने लक्ष्य बोकेकी कशिशले मिस नेपालको अनुभवले आफ्नो व्यावसायिक यात्रालाई समेत थप बल पुग्ने विश्वास व्यक्त गरिन्। प्रतियोगिताका क्रममा नेतृत्व क्षमता, व्यक्तित्व विकास र जिम्मेवारीबोधमा उल्लेखनीय सुधार आएको उनको भनाइ छ।
१ अगस्टमा हुने ग्रान्ड फिनालेको तयारीमा जुटेकी कशिशले अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ अभ्यास गरिरहेको बताइन्। उनले हालसम्म आफूलाई साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दै अन्तिम चरणसम्म पनि निरन्तर सहयोगको अपेक्षा गरेकी छन्।




















