सार्वजनिक प्रशासन सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने स्थायी संयन्त्र हो । सरकारको सक्षमता कर्मचारीतन्त्रको कार्यक्षमतामा निर्भर गर्दछ ।
सार्वजनिक प्रशासनको कार्यक्षमता यसमा कार्यरत कर्मचारीहरुको छनौट प्रक्रियाले पनि प्रभावित हुन्छ । चुनौतिपूर्ण जिम्मेवारी लिई आफ्नो अन्तरनिहित क्षमताको पुर्ण विकास र उपयोग गरी सरकारलाई सफल बनाउन अहोरात्र दत्तचित्त भएर लाग्ने कर्मचारीहरुको छनौट गर्न सक्षम निकायले उपयुक्त परीक्षा प्रणाली अवलम्बन गरेको हुन्छ ।
विषयगत परीक्षा, वस्तुगत परीक्षा, मौखिक परीक्षा प्रचलनमा रहेका परीक्षा प्रणालीहरु हुन् । पछिल्लो समय वस्तुगत परीक्षा प्रणालीमा सहभागी भएर परीक्षा उत्तिर्ण भई निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरुका बारेमा केही सार्वजनिक टिक्का टिप्पणी हुन थालेका छन् । टिक मार्क लगाएर सेवा प्रवेश गरेका हुनाले उनीहरु असक्षम हुन् भन्ने जस्ता आक्षेपहरु लाग्ने गरेका छन् । वस्तुगत परीक्षामा सामेल भएर सेवा प्रवेश गर्ने कर्मचारीहरु असक्षम नै हुन्छन् त ?
वस्तुगत प्रश्नका आधारमा लिइने परीक्षा परिक्षार्थीको ज्ञान, सीप र अपेक्षित ब्यवहारलाई परीक्षण गर्ने भरपर्दो साधन हो । यस किसिमको परीक्षामा विश्वसनीयता, वैधता, वस्तुनिष्ठता लगायतका गुणहरु विद्यमान रहने हुँदा यसलाई उपयोगी परिक्षण साधनका रुपमा लिने गरिन्छ । उत्तरपुस्तिका परिक्षण गर्दा परीक्षकले आफ्नो तजविजीले अंक प्रदान गर्न नपाउने, प्राप्त नतिजा वस्तुनिष्ठ हुने, परीक्षणमा पुर्वाग्रह र पक्षपात नहुने भएकोले वस्तुगत परिक्षा विश्वसनीय मानिन्छ ।
यस किसिमको परिक्षामा परीक्षार्थिबाट पाठ्यक्रम वा विषयवस्तुको अधिकांश भागलाई समेटेर गहिरो अध्ययनको अपेक्षा गरिने हुनाले विषयवस्तुको ब्यापक अध्ययनलाई प्रोत्साहन हुन्छ । विषयवस्तुको विशिष्ट ज्ञानको परीक्षण, प्रतिस्पर्धिहरुको वहुआयामिक क्षमताको मूल्याङ्कन गर्न उपयोगी भएकोले प्रतिश्पर्धीहरुको क्षमता परीक्षण गरी सेवा प्रवेशका लागि सिफारिस गर्न वस्तुगत परिक्षालाई विश्वसनीय मानिन्छ । विश्वसनीयता नै परीक्षणको बैधताको आधार पनि हो । वस्तुगत प्रश्नलाई सबैभन्दा बढी विश्वसनीय मानिदै आएको हुँदा विश्वब्यापी रुपमा यसको प्रयोग बढ्दै गइरहेको पाइन्छ ।
कर्मचारीको ज्ञान सिप क्षमता मापन गर्नका लागि विभिन्न परिक्षा प्रणालीको विकास भएको पाइन्छ । विभिन्न परीक्षा प्रणाली अस्तित्वमा रहिरहनुमा आ(आफ्नै कारण र महत्त्व हुन्छन् । हरेक परीक्षा प्रणालीका पृथक पृथक मूल्य र मान्यता रहेका हुन्छन् । कसैको निहित उद्देश्य वा स्वार्थका निमित्त मूल्याङ्कनका मूल्य मान्यताहरु भत्काउने गरी कुनै परिक्षाको विधि तय गरिएको हुँदैन । परीक्षा प्रणालीसँग जोडिएर रहेका विषयगत प्रश्न, वस्तुगत प्रश्न, मौखिक प्रश्नको आफ्नै महत्व हुन्छ । तिनिहरुको कुनै पनि बहानामा अवमूल्यन गर्नु हुँदैन । आफु सहभागी भएको परिक्षा प्रणाली राम्रो हो, उत्तम हो भनी गर्व गर्नको लागि अरु सहभागी भएको परिक्षा प्रणालीलाई होच्याउनु र अवमुल्यन गरिरहनु पर्दैन ।
कर्मचारी छनौटका निम्ति विश्वब्यापी प्रचलनमा रहेका विभिन्न परिक्षा प्रणलीहरुको उद्देश्य भनेको प्रतिस्पर्धीहरुको क्षमता आँकलन गर्नुको साथै निजहरूले सम्पादन गर्नुपर्ने काम, कारवाही तथा नयाँ सिद्धान्त, प्रणाली एवम् सिप र व्यवहारिक ज्ञान रहे नरहेको यकिन गर्ने हो । प्रचलनमा रहेका परीक्षा प्रणालीहरुको उद्देश्य प्रतिस्पर्धिहरुको आधारभूत क्षमताको लेखाजोखा गर्ने नै हो ।
परीक्षा प्रणाली नीतिगत विषय मात्र नभई प्राज्ञिक विषय पनि भएकोले नीतिगत एवं प्राज्ञिक तहबाटै आवश्यकता र औचित्यताका आधारमा तय गरिएको परीक्षा प्रणाली व्यवसायिकताको विकासका लागि मार्ग प्रशस्त गर्न सफल भयो या भएन छुट्टै अध्ययनको विषय बन्न सक्ला तर प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको सेवा, समुहको पाठ्यक्रम तथा शैक्षिक योग्यताको अन्तर्वस्तु भित्र गहिरो विश्लेषण नगरी उपयुक्तता वा औचित्यका विषयमा टिप्पणी गरी उक्त परिक्षा उत्तिर्ण गरी सेवा प्रवेश गरेका कर्मचारीहरुको मानमर्दन गर्नु शोभनीय हुँदैन ।
हरेक परीक्षा प्रणालीका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अरु सामेल भएको परीक्षा प्रणाली खराब र आफु सामेल भएको परिक्षा प्रणाली असल मान्नु मनोगत विश्लेषण मात्र हुन्छ । जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्नु सजिलो काम होइन । विषयवस्तुको ज्ञान नभएसम्म विषयगत वा वस्तुगत जुनसुकै किसिमका प्रश्नहरुको पनि हल गर्न सकिँदैन । कुनै पनि विषयवस्तुको उद्देश्यमूलक ढङ्गले गहिरो अध्ययन एवं विश्लेषण गरिएन भने जुनसुकै प्रकारका परिक्षामा पनि सफलता प्राप्त गर्न सकिँदैन ।
सक्षम तथा बैधानिक निकायले निर्धारण गरेको पाठ्यक्रममा आधारित परीक्षामा सामेल भई आफु लाभान्वित भइसकेपछि सोही निकायले लिएको परिक्षामा सामेल भएका समान योग्यता भएका अन्य ब्यक्ति सामेल भएको परीक्षा प्रणाली निकम्मा हो भन्ने धारणा बनाउनु उचित हुँदैन । कुनै पनि व्यवस्थाको लाभ आफूले मात्र पाउनुपर्दछ भन्ने मान्यता राख्नु पनि हुँदैन ।
आफु सामेल भएको परीक्षा प्रणाली उत्तम र अरु सामेल भएको परीक्षा प्रणाली निकम्मा भनी आफ्नो अनुकूल मात्र ब्याख्या गर्नु हुँदैन ।
राज्यद्वारा निर्धारित प्रक्रिया पुरा गरी सक्षम निकायद्वारा लिइएको परिक्षा उतिर्ण गर्ने सफल उम्मेद्वारलाई सरकारले नियुक्ति दिई निजलाई काममा लगाईरहेको अवस्थामा आफु सामेल भएको परिक्षा मात्र योग्य र उपयुक्त रहेको अरु समेल भएको परिक्षा प्रणाली अनुपयुक्त भन्ने आत्मपरक विश्लेषण गर्नु हुँदैन ।
सरकारले आफ्नो कार्य सञ्चालन र सार्वजनिक सेवा प्रवाहका लागि कस्तो जनशक्तिको आवश्यकता पर्छ भन्ने विषयमा सोची विचारी जनशक्तिको प्राप्ति विकास र उपयोग गर्न सक्छ । सांगठनिक स्वरूप, कार्य प्रकृति, जिम्मेवारी लगायतका आधारमा कर्मचारीको लागि आवश्यक पर्ने शैक्षिक योग्यताका विषयमा पर्याप्त सोच विचार गरी निर्णय गरेको हुन्छ ।
सरकारलाई कस्तो जनशक्ति आवश्यक पर्दछ भन्ने कुराको निर्क्यौल गरी उपयुक्त परीक्षण प्रणाली अवलम्बन गरिएको हुन्छ । सरकारले आवश्यकता अनुरूपका जनशक्ति प्राप्तिका लागि त्यस्ता जनशक्तिको योग्यता निर्धारण गर्ने, जनशक्ति छनौटको लागि आवश्यक पाठ्यक्रम निर्धारण गर्ने र परीक्षा प्रणाली निर्धारण गर्ने गर्दछ ।
यसै प्रणालीमा प्रतिस्पर्धिहरुले आफु सामेल भई योग्य सावित गर्दछन् । त्यसैले योग्य सावित भएका केही कर्मचारीले अरु सामेल भएको परिक्षा प्रणाली निकम्मा हो भन्नु युक्तिसंगत हुँदैन ।





























प्रतिक्रिया