नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजू राणा देउवा सम्बन्धी अडियो सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर ल्याइएको जिकिर गरे । सो अडियो नक्कली भएको उनको दाबी छ ।
उनले भने, ‘अहिले आरजु राणाविरुद्ध मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ। आरजुको केसमा उहाँले उक्त अडिओको सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा आफैंले उजुरी गर्नुभएको छ । मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर अनुसन्धान नै नसकिएको केसमा कसैलाई दोषी हो भनेर भन्न भएन यस प्रकरणमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रवक्ता महतले सो प्रकरणको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको प्रष्ट्याए । उनले भने ‘महामन्त्रीहरुले पनि त्यस बारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिवद्ध रहनु भएको छ।’
सभापति शेरबहादुर देउवाले यो प्रकरणलाई निष्पक्ष र स्वतन्त्र अनुसन्धानमा सघाउन आग्रह गरेको प्रवक्ता महतको भनाई छ । नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन। तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नुभएको छ। दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न। कानूनी प्रक्रिया अनुसार अघि बढ्छ।’





























प्रतिक्रिया