विदेशमा गएर धन कमाउने सपना त्यतै छोड्दै कतारबाट फर्किए आज ३०५ नेपाली

विदेशमा गएर धन कमाउने सपना त्यतै छोड्दै कतारबाट फर्किए आज ३०५ नेपाली

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा, कतार ।

विदेशबाट राम्रै कमाएर फर्कौंला, परिवारका सबैलाई सुखजिलो गरेर राखौंला एउटा सुन्दर परिवार बनाउँला भन्ने सपना बोकेर कतार पसेको केही समयमा नै प्रकृतिले परिवारका ८ जना सदस्यलाई आफूबाट चुँडेर लैजाँदा परदेशमा रहनेको जीवनमा के होला त्यो अनुमान मात्र गर्न सकिँन्छ, पत्याउन सकिंदैन ।

यस्तै हालतमा छन् म्याग्दीको धवलागिरि गाउँपालिका ६ मराङ रिखाका खगिन श्रीपाली । सुतिरहेको अवस्थामै घर सहित परिवारका ८ सदस्य पहिरोमा गुमाएका श्रीपालीलाई नपत्याउँ सबै सत्य हो पत्याउँ सपना झैँ लागिरहेको छ । बल्ल बल्ल ज्यान जोगाएकी आफ्नी आमाको अन्तिम बोली पनि सुन्न पाउँदिनकी भन्ने पीरले उनलाई बेस्सरी हिर्काएको हिर्काई छ । १० दिनदेखि अन्न न पानी भएका उनी आफूलाई परेको बज्रपात पत्याउन सक्ने अवस्थामा छैनन् तर दैवको लीला पत्याउनै पर्नेछ । विदेशले मानिसको सपना तुहाउँछ भन्थे तर मेरो सपना मात्र हैन घरै पुरेर जन्मेकै माटोले आफ्नो जिन्दगीसँगै जिन्दगीलाई चोईट्यायो बाँच्नु पनि मर्नु सरह भएको छ , श्रीपालीले आँसुको भेल रोकेर वेदना पोखे ।

कतारमा सपनालाई बालुवाको पहाड भत्केझैँ बुझेर बिर्सेर जान जति सजिलो छ त्यति नै परिवार र घर गुमाएर विपत्तिमा परेर अर्धचेत अवस्थामा फर्कनु पर्दाको पीडा अकल्पनीय हुन्छ । कोरोना भाइरसका कारण कतारले पनि सपनाका हाँगाहरु चोईट्याउन नेपालीलाई कसर छोडेको छैन । ५ महिनादेखि जागिर गुमाएका गुल्मीका राजु सुनार, काभ्रेका धुर्बराज माझी, सिन्धुलीका राजेश बिकको पीडा जीवनकै कालो समयका रूपमा नमेटिने गरी गढिसकेको छ । ह्विलचेयरमा बोर्डिङ लिँदै गरेका जनकपुरका मर्तुज मोमी जीवनमा आफ्नै खुट्टाले टेकेर हिँड्न सक्छु भन्ने सपना पनि देख्न छोडिसकेको बताउँछन् । जीवनमा धेरै हिँडेछु होला त्यसैले मलाई सजायँ घस्रेर हिड्ने मिलेको छ आफ्नो कुर्चीको ह्वील घुमाउँदै मोमीले भने ।

२५ हजार भन्दामाथि कतारमा नेपाली पीडित रहेका छन् । उनीहरू जुनसुकै मूल्यमा नेपाल जान चाहन्छन् । दुःख र पीडाको पहाड छ कतारमा तर सरकारले साना जहाज पठाउँछ र मजदुरलाई गिज्याउने गर्छ । यस्ले सरकारप्रति वितृष्णानै पैदा गर्दछ, एयरपोर्टमा भेटिएका एक यात्रीले बौद्धिक रूपमा सरकारको आलोचनासहित विरोध गरे ।

नेपाल सरकारको निर्णय बमोजिम प्रवासमा कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए पश्चात् र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सले दोस्रो चरणको दोस्रो सहजीकरण उडान मार्फत ५ महिला सहित १५६ जना र नेपाल एयरलाइन्सबाट ३ जना महिला सहित १४९ र २ वटा शव नेपाल गएको जानकारी राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कतारबाट आगामी उडान सोमबार बिहान नेपाल तथा साँझ हिमालयन एयरलाईन्सले गर्ने उडान तालिका रहेको छ।

Logo