बर्दिया क्षेत्र नं १ का सांसद एवम् पूर्व सिंचाई मन्त्री सञ्जयकुमार गौतम आमरण अनशन बसेको आज आठौँ दिन भएको छ। उनी जब्दीघाट पुल निर्माण लगायत बर्दिया जिल्लाका विभिन्न मुद्दाहरु संसदमा उठाउँदा पनि सरकारले सम्बोधन नगरेको कारण अनशनमा बसेका थिए।उनी भत्किएको जब्दीघाटको पुल मुनी बर्दियाका काँग्रेसका नेतासहित अनशन बसेका छन्। तर अझै पनि सांसद गौतमको मागप्रति सरकार गम्भीर बन्न सकेको छैन।
आफ्नो पार्टी सत्तामा हुँदाहुँदै आमरण अनशनमा बसेका गौतमले सदनबाट र प्रत्यक्ष भेटेर सरकार समक्ष राखेका मुद्दाहरु सम्बोधन नहुँदा बाध्य भएर आमरण अनशनमा बसेको बताएका छन्।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण हुन नसकेको विषयलाई सांसद गौतमले मुख्य मुद्दा बनाएका छन्।
सांसद गौतमले गत असोज २२ गतेका दिन भाँचिएको पुलको तीनवटा स्ल्याब बगाएर तल खसालेको छ। स्ल्याबल नदीमा सहज रुपमा पानी बग्न नदिई बाँधको रुपमा काम गरिरहेको छ। आउँदो बर्षातको समयमा बर्दियाको सदरमुकाम गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका डुब्ने खतरा देखिएको छ। बाँधको रुपमा काम गरिरहेको स्ल्याबलाई नष्ट गर्नुपर्ने माग राखेका छन्।
यो सँगसँगै बर्दिया जिल्लाको नदी नियन्त्रण, राष्ट्रिय गौरवको आयोजना बबई सिचाईं आयोजनामा पर्याप्त बजेटको सुनिश्चिता, राजापुर सिचाईं प्रणालीको दोस्रो चरणको सुरुवात, गुलरिया मुर्तिहा भन्सार नाकाको सञ्चालन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, भुरीगाउँ तेलपानी सडक निर्माण लगायतका १५ बुँदे माग पनि सांसद गौतमले अघि सारेका छन्।
२०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो। ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साल साउन २९ गते आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थिए। गत असोज २२ गते आएको बाढीले १७ वटा स्पानमध्ये पूर्व तर्फको तीनवटा स्ल्याप र स्पान बगाएको थियो।





























प्रतिक्रिया