नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वदेशी उत्पादनको प्रोत्साहन गर्ने नीति बनाउँछु भन्ने सरकारले आफ्नो नीतिको लाज राख्नुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या आएको बताए। उनले स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित गर्न नहुने बताए।
उनले भने, ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस्।’
उनले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भएपनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको भन्दै यसको मारमा जनता परेको बताए।
सांसद थापाले भने ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो। तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ। पहिले कानुन थिएन दर्ता भएन,तर अहिले कानुन भयो, दर्ता भयो तर आफैँ ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ।’
उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने भन्दै यो विषय उद्यमीसँग मात्र नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताए।





























प्रतिक्रिया