काठमाडौँ ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे लगत्तै नेपाली कांग्रेसभित्र अबको नेतृत्व लिनका लागि नेताहरुले दौडधुप अगाडि बढाएका छन् । पार्टीले आगामी महाधिवेशन फागुन महिनामा गर्ने निर्णय गरेको छ । तर कोरोनाको कारणले समयमा नै महाधिवेशन हुन्छ नै भन्ने यकिन भने भइसकेको छैन ।
कांग्रेसको भावी नेतृत्वको लागि झण्डै आधा दर्जन नेताहरु अग्रसर भएका देखिन्छन् । वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति पदमा लड्ने पक्षमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि सभापति पदका आकाँक्षी हुन् ।
यदि देउवा इतरबाट एक भन्दा बढी आकाँक्षीहरु भएमा देउवाले पुनः सभापति पद जित्ने लगभग निश्चित छ । तर देउवा इतरबाट पौडेल, कोइराला दाजुभाई र प्रकाशनमान सिंहको बीचमा सहमति भएर एक जना मात्र उम्मेदवार भएमा देउवा कमजोर हुनेछन् । त्यसैले यतिबेला देउवा इतर पक्षका नेताहरुको वैठक दिनहुँ बसिररहेको छ । उनीहरुले एकजना सहमतिको उम्मेदवार खडा गर्ने तयारी गरिरहेका छन् ।
पौडेलले आफूलाई पार्टीमा शेरबहादुर देउवा भन्दा पनि सिनियर नेता बताउँदै आएका छन् । उनले अहिलेसम्म सभापति तथा प्रधानमन्त्री हुन नपाएको भन्दै आफू अन्तिम पटक सभापतिका लागि लड्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् । तर, अर्का नेता शेखर कोइराला भने त्यसका लागि तयार छैनन् । उनले आफूले २ वर्षदेखि सभापति पदका लागि तयारी गरिरहेका कारण छोड्न नमिल्ने अडान लिईरहेका छन् । हुन पनि कोइरालाले विगत दुई वर्षदेखि देशव्यापी भ्रमण गरेर सभापतिका लागि तयारी गरिरहेका छन् ।
अर्का नेता शशांक कोइराला भने आफू वीपी पुत्र भएको र महामन्त्रीमा समेत सबैभन्दा बढी मत ल्याएर जितेका कारण आफूलाई सभापतिको उपयुक्त उम्मेदवार ठानिरहेका छन् । शशांक र शेखरको बीचमा नै सहमति हुन सकेको छैन । सिटौला यस अगाडि नै देउवासँग सभापतिमा लडेर पराजित भईसकेका हुन् भने सिंहले आफू उपसभापति भईसकेका कारण अब सभापतिमा लड्ने बताइरहेका छन् । तर एकभन्दा बढी उम्मेदवार भएमा चुनाव हारिने भएकाले सभापतिको एकल उम्मेदवार खडा गर्ने प्रयास भईरहेको छ ।
उता देउवा क्याम्पबाट भने देउवाले नै अग्रसरता देखाएमा अन्य उम्मेदवार अगाडि आउने सम्भावना देखिंदैन । आफ्ू नेतृत्वमा हुँदा पार्टीले संसदीय निर्वाचनमा ठूलो हार खानु परेको आरोप लागेकाले अब अन्तिम पटक सभापति भएर आफूले पार्टीलाई ठूलो अबस्थामा ल्याएपछि मात्र विश्राम लिने घोषणा देउवाले गरेका छन् । त्यस्तै अहिलेका उपसभापति विमलेन्द्र निधि पनि सभापति पदका लागि आकांक्षी देखिएका छन् । तर सभापति देउवा पुनः अगाडि बढेमा निधि देउवालाई उछिनेर अगाडि आउने ल्यागत राख्न नसक्ने उनी निकट नेताहरुको भनाइ छ । पार्टीमा अबको सभापति को बन्ने वहस हुँदै गर्दा अबको युवा नेता चाहिँ को हो भन्ने वहस पनि प्रारम्भ भएको छ ।
युवाहरु जसरी भए पनि पार्टीको पदाधिकारीमा निर्वाचित भएर आउने तयारीमा रहेका छन् । उदाहरणको लागि युवा नेता गगन थापा कम्तीमा यसपाली महामन्त्री पदमा निर्वाचन लड्ने पक्षमा रहेका छन् । तर उनी कसको तर्फबाट निर्वाचनमा होमिने हुन् भन्ने अझै यकिन भइसकेको छैन ।
त्यसैगरी अन्य युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतका नेताहरु पनि कम्तीमा पदाधिकारी पदमा निर्वाचन लड्ने पक्षमा छन् । युवाहरुलाई कुन स्थान दिने भन्नेमा दुवै समूहका उच्च नेताहरुको वीचमा कुनै पनि सहमति भएको छैन ।
हरेक जसो राजनीतिक दलमा यतिबेला युवा नेताहरुको सक्रियता बढेको पाइन्छ । कांग्रेसमा पनि युवा नेताहरुले नेतृत्व पाउनु पर्ने दबाब कार्यकर्ताहरुले दिइरहेका छन् । अब अग्रज पुस्ताले सल्लाहकारको भूमिकामा बसेर नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्न सके समय परिवर्तन अनुसार पार्टी अघि बढ्न सक्ने कार्यकर्ताहरुको बुझाइ छ । यसो गर्न सके अन्य दलहरुको भन्दा फरक किसिमले सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । तर कांग्रेसको अग्रज पुस्ता यो सोचमा तत्काल पुगि सकेको छैन ।
यता युवा नेताले पनि यसमा कस्तो सोच बनाएका छन् भन्ने विषय खुलेर सार्वजनिक गरेका छैनन् । पछिल्लो समयमा कांग्रेसभित्र मौलाएको गुटगत राजनीतिले तल्लो स्तरका कार्यकर्ताहरुमा पनि निराशा देखाएको छ । अबको नेतृत्वले उनीहरुमा पनि आशा पलाउन सक्ने वातावरण बनाउनु पर्ने आवाजहरु आइरहेका छन् ।
यस अघि बिगतमा कांग्रेसले पाएका नेतृत्व कति सफल भए वा असफल भए भन्ने समीक्षा गरेर पनि आगामी महाधिवेशनमा जानु पर्ने अधिकांशको सल्लाह सुझाव छ । यस तर्फ पार्टीले कसरी सोचेको छ त्यो त भोलिका दिनहरुले पक्कै देखाउने छ । अब आउने नेतृत्वले पार्टीमा देखिएको गुटगत राजनीतिको सफल अवतरण गराउनु पर्ने चुनौती एकातिर छ भने कोभिड १९ पछि देशमा बढेको बेरोजगारी अन्त्य र धराशायी भएको आर्थिक अवस्थालाई सुधार गर्न भूमिका खेल्नु पनि जरुरी छ ।
यति मात्र होइन, पार्टीका भातृ संगठनहरुमा पनि भाँडभैलो छ । नेविसंघ, नेपाल तरुण दल लगायतका भातृ संगठनहरुमा पनि जरैदेखि सुधार गर्नु पर्ने अवस्था छ । कांग्रेसको मूल नेतृत्व सक्षम भएन भने यी विषयहरु अन्योल हुने पक्का छ । सबैको अपेक्षा आगामी महाधिवेशनले यी सबै विषयलाई सम्बोधन गर्न सक्नु पर्ने नै हो ।
तर यहि अवस्था रहि रहे पार्टी भित्र अहिले देखिएको समस्या समाधान हुनुको सट्टा थप बल्झिन पनि सक्छ । त्यसैले बलियो कांग्रेसको अपेक्षा गर्ने हो भने उल्लेखित विषयहरुमा पक्कै ध्यान दिनै पर्छ ।































प्रतिक्रिया