शमशेर मियाँको बयान- प्रहरीले खाेजी गरेपछि माेवाइल गाेरखपुरकाे खाेलामा फ्याँके

शमशेर मियाँको बयान- प्रहरीले खाेजी गरेपछि माेवाइल गाेरखपुरकाे खाेलामा फ्याँके

केन्द्रबिन्दु
0
Shares

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा संलग्न रहेकोमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले प्रहरीलाई बयान दिएका छन्।

यस्ताे छ मियाँकाे बयान-

मैले केशव प्रसाद दुलाल, सानु भण्डारी, डा. इन्द्रजीत राई, टेक नारायण पाण्डे, सन्देश शर्मा, सन्दिप रायमाझी, नरेन्द्र के.सी. बालकृष्ण खाँण, टोप बहादुर रायमाझी र टंक कुमार गुरुङ समेतलाई राम्रोसंग चिन्दछु । टोप बहादुर रायमाझी पूर्व नेता हुनु हुन्छ, बालकृष्ण खाण तत्कालीन गृहमन्त्री तथा मेरो क्षेत्रको नेता हुनुहुन्छ, डा. इन्द्रजित राई तत्कालिन गृहमन्त्री राम बहादुर थापा (बादल) को सल्लाहकार हुन, टेक नारायण पाण्डे तत्कालीन गृह सचिव हुन, केशव प्रसाद दुलाल र सानु भण्डारीलाई मैले सन्देश शर्मा मार्फत चिनेको हो । 
टंककुमार गुरुङको ललितपुर बखुण्डोलमा रहेको रिसोर्टमा गई खाजा नास्ता खाँदा चिनेको र सन्दिप रायमाझी टोप बहादुर रायमाझीको छोरा भएकोले निजहरू सबैलाई राम्रोसंग चिन्दछु म नेपाल समितिको अध्यक्षमा नियुक्ती हुँदा तत्कालिन गृहमन्त्री राम बहादुर थापा (बादल) को कार्यकालमा नियुक्त भएको हुँ। बादलका छोरा प्रतिक थापासंग निज सन्देश शर्मा प्रायः संगसगै रहने भएकोले निज सन्देश शर्मासंग चिनजान भएको हो। 
सन्देश शर्मा बिभिन्न व्यक्तीहरुको सरुवा बढुवा गराउने कार्यमा समेत सक्रिय रहेको देखेको हुँ। प्रतिवादी सानु भण्डारी, प्रतिवादी केशव प्रसाद दुलाल र प्रतिवादी सन्देश शर्मा बिच राम्रो सम्बन्ध थियो। गृह मन्त्रालयका तत्कालिन सुरक्षा सल्लाहकारका रुपमा रहेका प्रतिवादी इंन्द्रजित राईलाई भेट्न बखुण्डोलमा सानु भण्डारी, केसव प्रशाद दुलाल आई रहनु हुन्थ्यो । सन्देश शर्मा मार्फत केशव प्रसाद दुलाल र प्रतिवादी सानु भण्डारी समेतसंग चिनजान भएको हो। निज प्रतिवादी सानु भण्डारी र केशव प्रसाद दुलाललाई गृह मन्त्रालयमा आउन कुनै रोक थिएन् । 
इन्द्रजित राई, सानु भण्डारी र केशव प्रसाद दुलाल बिच निकै निकटता रहेको मैले देखेको हुँ । म २०७६ सालको पुस महिना देखी नेपाल हज समितिको अध्यक्ष पदमा कार्यरत रही कामकाज गर्दै आई रहेको छु । म हज समितीको अध्यक्ष पदमा टोप बहादुर रायमाझी समेतको सिफारीसमा नियुक्त भएको हुँ ।
मैले नेपाल सरकारअन्तर्गत गृहमा सरकारी नम्बर प्लेट भएको गाडी र चालक एक थान उपलब्ध हुँदै आई रहेको थियो । म कमिटीको अध्यक्ष पदमा नियुक्ति भए पश्चात् मलाई गृश मन्त्रमलयबाट नम्बर बाँझीन हुन नआएको प्राडो गाडी उपलब्ध भएको थियो। सो गाडी १ वर्ष जती चड़े पश्चात् पुनः मलाई बा.१ झ.१५८१ नम्बरको निसान पेट्रोल जिप उपलब्ध भयो। उक्त गाडी ८ महिना चढे पश्चात् कर तिर्न भनी यातायात कार्यालय जाँदा सो नम्बरको अभिलेख भेटिएन। गृह मन्त्रालय अन्तर्गत आन्तरिक सवारी शाखामा गई सो कुरा जानकारी गराउँदा सो गाडीको वास्तविक नम्बर बा. १. १५८९ नभई बा. १२.१५८९ रहेको जानकारी प्राप्त भएकाले मैले निजहकै सुझाव अनुसार उक्त बा. १. झ ५८१ नम्बरको नम्बर प्लेट राखी चढ्दै आएकोमा सरकारी गाडीमा ईम्बोस्ड नम्बर राख्ने भनी पढ़ी हाल कायम रहेको बी ए बी १४०५ प्लेट राखि चढ्दै आएको थिए। 
म हज समितिको अध्यक्ष रहेको बेला मलाई उपलब्ध भएको नेपाल प्रहरीको चालक प्र.ह.रेशम गुरुङ प्र.ज.मनोज लामा हुन, शसस्त्र प्रहरीका प्र.स.ह.प्रेम गौतम र नेपाल प्रहरीका प्र.ह.स. डोलराज पाण्डे र करारमा राखेका प्रभास परियार भन्ने यम बहादुर परियार रहेका थिए । प्रहरी कार्यालयमा दाखिला हुन आएको बी ए बी १४०५ नम्बरको गाडी मलाई देखाउँदा देखे, उक्त गाडीने मैले चढ्ने गरेको गाडी हो । गाड़ी म बाहेक हज कमिटीका सदस्यहरू तथा हाल अनुसन्धानको क्रममा पक्राउ परेका सन्देश शर्मा समेतले कहिले काँही चढ्ने गरेको थिए। सन्देश शर्माले पारिवारिक समस्या छ भनी उक्त गाडी माग गरेकोले मैले निजलाई केही दिनको लागी गाडी चाहियो भन्दा निजसंग राम्रो सम्बन्ध भएकाले निजले भनेको ठाउँ ललितपुरको होटल हाल पक्राउमा परेका प्रतिवादी टंक गुरुङले सञ्चालन गरेको रेष्टुरेन्टमा म समेत कहिले काँही खान जाने गरेकाले उक्त रेष्टुरेन्टमा चालक प्रेम कुमार गौतमलाई गाडी छाड्न भनेको हुँ भने निज चालकलाई केही दिनको लागी घरमा बस भनेको हुँ। सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५/६ दिन पछी मात्र निज सन्देश शर्माले गाडी ल्याई सोही रेटुरेन्टमा छाडेको जानकारी दिएकाले चालक प्रेम गौतमलाई उक्त गाडी लिन पठाएको हुँ। गृह मन्त्रालय अन्तर्गत आन्तरिक शाखाबाट वास्तविक नम्बर नै उक्त गाडीमा राख्ने भन्ने सल्लाह भए अनुसार मर्मतका क्रममा गाडीको नम्बर प्लेट समेत वास्तविक बा. १.ञ.१५८१ नम्बरको प्लेट राखी चालकले गाडी लिई आएका हुन् । 
आज भन्दा २ बर्ष पहिले ललितपुर बखुण्डोलमा रहेको प्रतिवादी टंक कुमार गुरुङको रिसोर्टमा सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्देश शर्मा समेत भेटघाट हुँदा नेपाली नागरीकहरूलाई तेश्रो मुलुक समेत पठाउने कार्य हुँदैछ भनी एक आपसमा कुराकानी गरेको मैले सुनेको थिए। 
गैह्रभुटानी शरणार्थीहरूलाई तेश्रो देश पठाई दिने कार्यमा संलग्न रहेका उच्च पदस्थका कर्मचारीहरु समेत पक्राउ परेको र सोही विषयमा मेरो नाम समेत जोडीन आएकोले प्रहरीले मलाई पनि पक्राउ गर्न सक्छ भन्ने सोची मैले बोक्ने गरेको आइफोन १३ प्रो म्याक्स कम्पनीको मोबाईल थान–१ मा रहेको सिम कार्ड निकाली उक्त मोबाईल भारतको गोरखपुर भन्ने स्थानमा रहेको खोलामा फ्याँकी दिएको थिए ।
बम समेतलाई प्रहरीले खोजतलास गर्दै छ भन्ने थाहा पाई म डर त्रासमा भागी उक्त मोबाईल फ्याकेको हो । गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होईन, यसमा संलग्न रहेका प्रतिवादीहरूलाई कानून बमोजिम कडा कारबाही हुनु पर्छ, पीडितले न्याय पाउनु पर्छ भनी प्रतिवादी शमसेर मियाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

Logo