चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

केन्द्रबिन्दु
0
Shares

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए।

‘चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ’,उनले भने। चलचित्र डोल्पा जिल्लाको से-फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए।

निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी,वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार रामजी बगाले, फेसियल हाउसकी सञ्चालिका सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए।

चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा हुनुहुन्छ।

चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने सम्पादन तारा थापा, पार्श्व सङ्गीत सञ्जीव सुब्बा,कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन्। चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।

Logo