आइपीएलमा साबिक विजेता गुजरात फाइनलमा

आइपीएलमा साबिक विजेता गुजरात फाइनलमा

केन्द्रबिन्दु
0
Shares

युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल पुगेको छ । 

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले ६२ रनको जित हात पारेकाे छ । गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो । 

मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए । 

तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए । क्यामरन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । मुम्बईका तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाउन सके । 

गुजरातका लागि मोहित शर्माले २ दशमलब २ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २/२ तथा जोशुवा लिटिलले १ विकेट आफ्नो नाममा गरे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो। मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १/१ विकेट लिए । 

साबिक विजेता गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो ।

गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । 

दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरको विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता गुजरातबीच आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

Logo