राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले राजनीति भनेको स्वच्छ र इमान्दार भएर नीति निमार्ण, राष्ट्र निमार्णको भूमिका निभाउने एउटा स्थान भएको बताएकी छिन् ।
शनिवार पार्टीको ललितपुर महानगरको भेलालाई सम्बोधन गर्दै सांसद कार्कीले राजनीति अरु पार्टीको लागि गरेर खाने थलो भएपनि हाम्रो लागि कौशलताका साथ क्षमतामा आधारित भएर काम गर्ने थलो भएको बताएकी हुन् ।
उनले भनिन्, 'संविधानमा रहेका हरेक धारालाई लागू गर्नुपर्ने छ, राजनीति अरु पार्टीको लागि गरेर खाने थलो मात्र भयो तर हाम्रो लागि राजनीति भनेको कौशलताका साथ क्षमतामा आधारित भएर काम गर्नु हो । योगदान गर्ने कुरामा राजनीतिलाई जोड्नु आवश्यक छ, राजनीति भनेको अब स्वच्छ र इमान्दार परदर्शिताका साथमा गरिने एउटा नीति निमार्ण, राष्ट्र निमार्णको भूमिका निभाउने एउटा स्थान हो भनेर स्थापित गर्नु पर्छ । राजनीति भित्र भएको वेथितिहरु विरुद्ध हामीले आवाज उठाएका छौँ ।'
सांसद कार्कीले हिजोको दिनमा ठूला मानिएका र देशको संवाहक मानिएका दलहरु आज ठूला ठूला भ्रष्टाचारमा काण्डहरुमा फसिरहेका भन्दै यस्तो राजनीतिक वेथिति विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लागिपरेको बताइन् ।
उनले नेपाली राजनीतिक धरातलमा धेरै परिवर्तनहरु देखेता पनि शिक्षा र स्वास्थ्य जस्ता विषयहरु आम समुदायको स्तर बढ्न नसकेको भन्दै त्यसले नेपाली जगतलाई एउटा निराशाको चङ्गुलमा फसाएको उल्लेख गरिन् ।
सांसद कार्कीले अविकास र भ्रष्ट आचरणले ग्रसित भएको नेपाली समाजलाई उन्नति र प्रगति तर्फ बढाउने, गन्तव्य फर्काउने, विकास र समृद्धिको कोल्टे फेर्नुपर्ने र गाथा रच्नु पर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको भन्दै त्यसलाई रास्वपाले इमान्दारिताका साथ निर्वाह गर्ने बताइन् ।































प्रतिक्रिया