अधिकारकर्मीहरुले निरन्तर आन्दोलनमा रहेका मिटरब्याज पीडितहरुको आन्दोलन नटुंगिएसम्म साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिवार काठमाडौं शान्तिवाटिकामा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आयोजना गरेको मिटरब्याजको अर्थराजनीति बृहत् सडक अन्तर्क्रिया कार्यक्रममा अधिकारकर्मीहरुले राजनीतिक दलहरुको मौनताका कारण नै मिटरब्याजीहरुको आत्मबल बढेको आरोप लगाए ।
कार्यक्रममा अधिकारकर्मी मोहना अन्सारीले ६९ प्रतिशत मानिसहरु मिटरब्याजको कारणले पीडित रहेको उल्लेख गर्दै दलका नेताहरुलाई यस बारे गम्भीर बन्न आग्रह गरिन् । उनले त्यहि पीडित मतदाताको भोटले चुनाव जितेका नेताहरुले चुनावपछि वेवास्था गर्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्,‘नेपालका सम्पूर्ण राजनीतिक दलहरुलाई मेरो ठाडो प्रश्न ६९ प्रतिशत मानिसहरु मिटरब्याजको कारणले पीडित हुनुहुन्छ । उहाँहरुको त्यो ठाउँमा मतदाता छन् कि छैनन् । उहाँहरुको उम्मेद्वार त्यो क्षेत्रमा छन् कि छैनन् । उहाँहरु के हेरेर बस्नुभएको छ । गठबन्धन बनाएर चुनाव लड्नुभएको आँखा देख्नुहुन्न के हो ? उहाँहरुको दलको नेता मधेश प्रदेशमा छैनन् ?’
लामो समयदेखि शान्तिवाटिकामा बसिरहेका पीडितको सुरक्षाको प्रत्याभूति सरकारले गराउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सामाजिक अभियन्ता डा.सञ्जीव उप्रेतीले मिटरब्याज पीडितहरु सामाजिक न्यायका लागि लडिरहेका उल्लेख गर्दै समस्या समाधान नहुँदासम्म निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘यहाँ सहभागी हुनुभएका सबै पीडितहरु पीडा मुक्त हुनै पर्छ यस्को लागि निरन्तर आन्दोनमा साथ दिनै छौं । हामी सामाजिक न्यायकालागि लडिरहेकाहरुको लागि साथ दिनै पर्छ भनेर यसमा लागेका हौं । ’





























प्रतिक्रिया