दिगो विकासका लागि चुनौतीहरूलाई चिर्न सरोकारवाला पक्ष सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

दिगो विकासका लागि चुनौतीहरूलाई चिर्न सरोकारवाला पक्ष सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिनका लागि सक्रिय हुनुपर्ने बताएका हुन्।

शुभकामना सन्देशमा उनले भनेका छन्,’सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिन सक्छ ।’

यस दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले प्लास्टिक प्रदूषणले सिङ्गो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनीकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको उल्लेख गरेका छन् ।

उनले बढ्दो बसाई सराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने बताएका छन् ।

उनले शुभकामना सन्देशमार्फत मानव क्रियाकलापले वन, जैविक विविधता सङ्कटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरूको सामना गरिरहनु परेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दिगो संरक्षणमा एकजुट भई लाग्न अपिल गरेका छन् ।

Logo