सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ ढोडेनीका वासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू १ गाग्री पानी लिन २ घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन्।
बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरू २ घण्टा डोकोमा १ गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैंभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताए ।
‘ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, १ गाग्री पानी ल्याउन २ घण्टा उकाली ओराली गर्नुपर्छ,’ ४० वर्षीया आचार्यले भनिन्, ‘यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ तर धारोमा पानी आउँदैन ।’ पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उनको भनाइ छ ।
खानेपानीको धारामा पानी नआएपछि उनीहरू कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन् । ढोडेनीबाट १ किलोमिटरभन्दा टाढा रहेको खोलामा पानी लिन जाँदा भिरालो भए पनि पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ । स्थानीय जमुना गुरुङ भन्छिन्, ‘खोलाबाट पानी लिएर आउँदा उकालीओराली गर्नुपर्छ, पानी बोकेर आउँदा कतिपटक त लडिन्छ ।’ गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन् । ‘पानीकै पिरले गाईवस्तु पाल्न सकेकी छैन,’ आचार्यले पीडा सुनाइन् ।
खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न समस्या हुने भएकाले स्थानीय लुगा बोकेरै खोलामा पुग्ने गर्दछन् । बाख्रापालनका लागि राम्रो सम्भावना भएको यस क्षेत्रमा पानीकै समस्याका कारण पशुचौपाया केहीले मात्र पालेका छन् । हुनेखाने र सक्नेले पानीको ट्यांकर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन् ।
ढोडेनी छतिटारमा कुखुरा पाल्दै आएका विष्णुहरि अधिकारी ट्यांकरबाट ल्याएर पानी पिउने गरेको बताउँछन् । ‘खानेपानीको समस्या आजको होइन, विगतदेखि नै यथावत् छ,’ उनले भने, ‘कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्यांकरबाट पानी झार्ने गरेको छु, ३ हजार लिटर पानीले ४ दिन जति पुग्छ।’
ढोडेनीका झण्डै १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ । २ वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो तर अहिले धारामा पानी आउनै छाडेको छ ।
‘४ किलोमिटर परबाट पानीको पाइप जोडर खानेपानी ल्याइयो, अघिल्लो वर्ष मिटर पनि जोड्यौं, हप्तामा १–२ पटक मात्रै अलिकति पानी आउँछ,’ खानेपानीका लागि जोडिएको मिटर देखाउँदै अधिकारीले भने, ‘पानी प्रयोग गर्न नपाए पनि हामीले मासिक ८० रुपैयाँ तिर्नुपरेको छ ।’





























प्रतिक्रिया