काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
बिहीबार सभागृहस्थित रहेको मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । भारतको नयाँ संसद भवनमा नेपाली भूमी समेटिएको ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उनले कार्यकक्षमा राखेको बुझिएको छ ।
मेयर बालेन भने अहिले भारतको बैंगलुरूमा छन्। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए ।
भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा सो नक्सा राखेको थियो । जसमा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ। त्यसपछि भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यस बारेमा कुरा उठाए पनि सांस्कृतिक नक्सा मात्र भएको जवाफ पाएको संसदमा जानकारी दिएका थिए । त्यसपछि सांसदहरूले प्रधानमन्त्रीलाई सो नक्सा हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन्।
ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म समेटिएकाे छ । तर, अंग्रेजसँगको युद्धपछि सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएकाे सुगौलीसन्धीमा नेपालको भूभाग मेची-महाकालीमा खुम्च्याइदिएको थियाे ।





























प्रतिक्रिया