महंगो आयोजनामा पैसा फसाएर देशलाई ऋणमा डुबाउनु राष्ट्रघात होः महामन्त्री शर्मा

महंगो आयोजनामा पैसा फसाएर देशलाई ऋणमा डुबाउनु राष्ट्रघात होः महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महंगो आयोजनामा पैसा फसाएर देशलाई ऋणमा डुवाउने काम भ्रष्टाचार मात्र नभई राष्ट्रघात भएको उल्लेख गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा महामन्त्री शर्माले वितेको १५/२० वर्षमा नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सबैको सरकार आएपनि सबैले आवश्यकताभन्दा बाहेकका परियोजनामा पैसा फसाउने काम गरेको भन्दै फेरि त्यही कार्य दोहोर्याउने हो भने राष्ट्रप्रतिको घात हुने बताएका हुन् । 

उनले भने, ‘हामी अर्बौको एयरपोर्ट बनाउँदा कुन स्थानमा सबैभन्दा आवश्यकता थियो त्यो सोच्न सक्दैनौ त्यो भ्रष्टाचार हो । पोखराबाट नवलपरासीको भूमितिर ६५ किलोमिटर फास्ट ट्रयाक जोड्दिएको भए । त्यो दुईवटा एयरपोर्ट नजिक पर्ने थियो नि, अब कसलाई भन्ने कसलाई दोष दिने । वितेको १५, २० वर्षमा गणतन्त्रपछि सबैभन्दा बढी अवधि एमालेकै थियो । त्यसपछि हामी अनि माओवादी छ । यदि अब फेरि पनि लहडको आयोजना बनाएर पैसा फसाएर देशलाई ऋणमा फसाउँने हो भने त्यो भ्रष्टाचार मात्र होईन्, त्यो राष्ट्रघात हुन्छ ।’ 

महामन्त्री शर्माले जतिसुकै योग्य व्यक्ति भएपनि दुई पछाडी तीन बन्न नहुने व्यवस्था गर्ने हो भने देशमा भएका एक सय एक व्यक्तिले काम गरेर देखाउने मौका पाउने बताए । उनले जतिपटक मन्त्री, प्रधानमन्त्री बनेपनि हुन्छ भन्ने नेपाली राजनीतिमा देखिएको प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक भएको पनि बताए । 
 
महामन्त्री शर्माले देशको नीति मात्र सहि भएर देश नबन्ने उल्लेख गर्दै सरकारले नीति सँगसँगै थिति र नियम पनि परिर्वतन गर्न जरुरी भएको बताए । 

उनले भने, ‘देशले लिएको नीति सहि छ, तर नीति सहि भएर मात्रै जनताको नियति बदलिदैँन् । नियति बदल्नको लागि नीतिसँगै थिति बदल्नु पर्छ । र, योसँगै नियम पनि बदल्नु पर्छ त्यो विषयमा यो पुस्तकले झकझकाएको छ । राजनीतिज्ञहरुलाई ऐन देखाउनको लागि यो पुस्तक महत्वपूर्ण देखिन्छ । निर्वाचनपछि नयाँ सन्दर्भमा आएका छौ, निर्वाचन भयो, केन्द्रीय सरकार भन्यो दलहरु कोही सत्तामा कोही प्रतिपक्षमा होला, ७ वटा प्रदेश सरकारहरु बन्यो, ७५३ वटा गाँउ नगरका प्रमुखहरुका संरचना बनेका छन् । जनताका छोरा, छोरी निर्वाचित भएका छन् यो बेलामा शासन शैली प्रत्येक केन्द्रदेखि वडा तहसम्मको सरकारले शासनको शैली बदल्नु पर्छ । हामी सबै प्रश्नको घेरामा रहनुपर्छ । यो अवस्थामा यस्तो खालको पुस्तक आउँदा बहसमा केन्द्रीय भावना ल्याउँछ ।’

Logo