पूर्वी पहाडमा बाढीपहिरोको बितण्डाः निरीक्षण गर्न पुग्याे प्रधानमन्त्रीकाे टाेली

पूर्वी पहाडमा बाढीपहिरोको बितण्डाः निरीक्षण गर्न पुग्याे प्रधानमन्त्रीकाे टाेली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् । 

बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल प्रचण्ड, गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितकाे टाेली सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा केहीबेर अघि हेलिकोप्टरबाट ओर्लेका हुन्। 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले संखुवासभाको बाढीको प्रकोपबारे प्रमुख जिल्ला अधिकारीमार्फत जानकारी लिएका छन् । सरकारको तर्फबाट उद्दार, राहत र अवरुद्ध यातायात सेवा संचालन तथा जनताको आवास व्यवस्थापनमा कुनै कमी हुन नदिने उनले बताएका छन् । 

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् । साथै सो टोलीमा प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्कीसहित नेपाली सेनाका प्रधानसेनापति, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

May be an image of 6 people and dais

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ।

May be an image of 8 people and dais

गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार  तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन् ।

संखुवासभामा १८ जना बेपत्ता छन् ।  पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ । 

Logo