काठमाडौं महानगरपालिकाले बन्द गराएको “आठौं कान्तिपुर हिसान एडुफेयर -२०२३” नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरू भएकाे शैक्षिक मेला बन्द नगर्न आदेश जारी गरेको हो ।
गत जेठ ३२ गते काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्देशनमा सहमतिविपरीत माध्यामिक शिक्षा परीक्षा (एसईई) र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै बन्द गराइएको थियो । सभामुख देवराज घिमिरेले उद्घाटन गरेको दिन नै महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गराएको थियो ।
मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र एसईईको नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको थियाे । अब अदालतको आदेशसँगै शैक्षिक मेला पुनः सुरु गर्ने बाटो खुलेको छ ।





























प्रतिक्रिया