काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चलिरहेका बेला दुई अध्यक्षको मन मिलेको सन्देश सार्वजनिक भएको छ । गत बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै पार्टी एकता पूरा गरेरै छाेड्ने उद्घोष गरेका थिए । त्यस्को अर्को दिन बाढी पहिरो र नदीले कटान गरेको स्थलगत अवलोकन गर्न गृह जिल्ला चितवन पुगेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकता पूरा गर्न आफूले अन्तिम समयसम्म धौर्यता नगुमाउने अभिव्यक्ति दिए ।
गत असार १० देखि नेकपाको स्थायी कमिटी बैठक जारी छ । पहिलो दिनको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले मन्तव्य राखेका थिए । दुई अध्यक्षले मन्तव्य राख्दा एकले अर्कोलाई दोषारोपण गरेका थिए । पहिलो दिनको बैठकले आगामी बैठकका लागि सात एजेण्डा तय गरेको थियो । सात एजेण्डा तय गर्दै स्थगित भएको बैठक १२ गते पुनः बसेको थियो । १२ गते बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले सीमा सम्बन्धमा आफ्नो धारणा राखेका थिए । १३ गते बसेको बैठकमा पनि स्थायी कमिटी सदस्यहरुले बैठककै नियमित एजेण्डामा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए ।
१४ गते जननेता मदन भण्डारीकाे जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकाले बैठक दुई दिनका लागि स्थगित गरिएको थियो । १४ गते मदन जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतीय राज्य संयन्त्रले हटाउन चलखेल सुरु गरेको बताए । आफूले लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको नेपाली भूमिलाई संवैधानिक अंग बनाएकाले प्रधानमन्त्रीबाट हटाउन चलखेल भएको ओलीको भनाइ थियो । साथै, उनले भारतीय राज्य संयन्त्रलाई नेकपाबाटै सहयोग रहेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर स्थायी कमिटीका अधिकांश सदस्यहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरे । ओलीको राजीनामा माग गर्नेहरुमा कार्यकारी अध्यक्ष प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु थिए ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पार्ने सबैभन्दा बलियो शक्ति माधव नेपाल समूह नै हो । गत बुधबारसम्म (वान टु वान) वार्तामा आ–आफ्नो अडान नछाेडेका ओली प्रचण्ड बिहीबारदेखि भने पार्टीभित्रको विवादलाई सहमतिमा समाधान गर्न सहमत भएको विवरणहरु सार्वजनिक भएका थिए । यस्तो अवस्थामा नेकपाको तेस्रो धार अर्थात नेपाल समूहको मनस्थिती यतिबेला कस्तो छ ? भन्ने चासोको विषय बनेको छ । नेपाल निकट मानिने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बैठकमा थप छलफल नहुँदै नेकपाको विवाद साम्य भयो भनेर प्रचार गर्न नहुने बताए । दुई अध्यक्षबीच सहमति जुटेको भएपनि त्यसलाई अन्तिम रुप दिनका लागि पार्टीको बैठकले निर्णय गर्नुपर्ने उनले बताए । पार्टीको बैठकले निर्णय नगरेको अवस्थामा नेकपा विवाद साम्य भयो भन्नु गलत हुने उनको भनाइ छ । केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै नेता ज्ञवालीले भने–‘नेकपा विवाद अहिले नै साम्य भयो भन्नु हतारो हुन्छ । किनभने पार्टीभित्रको असहमति मिलाउने पार्टीको बैठकले हो । जुन अहिले बसेको नै छैन । कसरी नेकपा विवाद साम्य भयो भन्नु उपयुक्त हुन्छ ?’
त्यस्तै नेपाल पक्षसँग निकट मानिने अर्का स्थायी कमिटी सदस्य पनि नेकपाभित्र विवाद छैन भन्नु उपयुक्त नहुने तर्क गर्छन् । दाहाल र ओलीबीच के सहमति भयो भन्दा पनि पार्टीको बैठकले के निष्कर्ष निकाल्छ भन्ने मुख्य कुरा हुने उनले बताए । उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘पार्टी दुर्घटनामा नजाओस् भनेर दुई अध्यक्ष सहमतिका लागि वार्तामा बस्नु भएको हो । अहिले नेपाल पक्षलाई अलग्याएर (उहाँ) प्रचण्ड एक्लै अगाडि बढ्नु हुन्छ जस्तो मलाई लाग्दैन । पार्टीभित्र जुन सहमति हुन्छ प्रचण्ड र नेपाल पक्षसँगको समझदारीमा नै हुन्छ ।’
कहिले कुन पक्षसँँग नजिक भएर अर्को पक्षलाई भित्तामा पुर्याउने कहिले कुन पक्षलाई साथमा लिएर अर्को पक्षलाई नछाेड्ने ओलीसँग प्रचण्ड नजिक हुन्छन भनेर आफूले सोच्न नसक्ने ती नेताले बताए । पटक पटक प्रचण्ड, नेपाल र वामदेव गौतम पक्षलाई साथमा लिएर आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने ओलीलाई प्रचण्डले पनि राम्रोसँग बुझेकाले अहिले नेपाल पक्षलाई छोडेर जान्छन् भन्ने पक्षमा आफू विश्वस्त हुन नसक्ने उनकाे दाबी छ । ती नेताले भने–‘तपाईँ आफैँ हेर्नुहोस केहि समय पहिले आफू अप्ठ्यारोमा पर्दा पार्टी उपाध्यक्ष वामदेव गौतम जीलाई कसरी प्रयोग गर्नुभयो । पछि कसरी भुँइमा पछार्नु भयो । के त्यो पनि (उहाँ) प्रचण्ड जीले बुझ्नु हुँदैन होला र ?’





























प्रतिक्रिया