बलिङ र ब्याटिङ नचल्दा नेपाल समूह चरणबाटै बाहिरियो

बलिङ र ब्याटिङ नचल्दा नेपाल समूह चरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको सुपर सिक्सको सपना सकिएको हो । 

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले विष्फोटिङ ब्याटिङ गर्दै सर्वाधिक ९० रन जोडे । सो क्रममा उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै, बास डी लिडले ४१ रन, विक्रमजित सिंहले ३० रन जोडे । 

May be an image of 2 people and text

बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए । प्रतियोगितामा उनले ३ विकेट मात्रै लिए । सर्वाधिक आशा गरिएका उनी यसअघि जिम्बाबे र अमेरिकाविरुद्ध विकेटविहीन हुँदा वेष्ट इण्डिजविरुद्ध भने एक विकेट लिएका थिए । त्यस्तै, गुल्सान झाले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन । 

May be an image of 2 people and text

यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए । 

नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुई/दुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक/एक विकेट झारे । 

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । नेपालले चार खेलबाट २ अंक मात्र जोड्न सक्यो।

नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिकरुपमा सुपर सिक्समा पुगेको छ । यस समूहबाट अमेरिका भने बाहिरिसकेको छ । पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। त्यसपछि शिर्ष दुई टिम विश्वकपमा छनाेट हुनेछन् । 

Logo