नेपाली राष्ट्रिय क्रिकेट टोली सुपरसिक्समा पुग्ने लक्ष्यसहित एक महिना अघि जिम्बाब्वे उडेको थियो । तर जिम्बाब्वे यात्राका क्रममा तीन खेलमा हार र एक खेलमा जित निकालेको नेपाल समुह ‘ए’ बाट अमेरिकापछि बाहिरिने दोस्रो राष्ट्र बन्यो ।
नेपालको सुपर सिक्समा पुग्दै विश्वककप खेल्ने सपना पूरा नहुनको प्रमुख कारण ब्याटिङ र बलिङ दुबै खराब गर्नु हो । नेपालले पहिलो खेलमा आयोजक जिम्बाब्वेविरुद्ध २९० रन बनाएर पनि राम्रो कसिलो बलिङ गर्न नसक्दा २९० रनको विशाल लक्ष्यलाई जोगाउन सकेन।
राम्रो ब्याटिङ गरेको सो खेलमा नेपालको बलिङ भने बिर्सनलायक थियो । फलस्वरूप नेपाल पहिलो खेलमै जिम्बाब्वेसँग ८ विकेटले पराजित भयो । यसैगरी नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध भने बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो । अमेरिकाविरुद्ध राम्रो बलिङकै कारण नेपालले खेल ६ विकेटले जित्यो ।
त्यसैगरी नेपालको तेस्रो खेल दुईपटकको विश्व च्याम्पियन वेस्ट इण्डिजसँग भयो । उक्त खेलमा नेपालले ब्याटिङ र बलिङ दुबैमा घुडा टेक्न पुग्यो । एक समय पहिलो पावर प्लेमै २ विकेट लिईसकेको नेपाल ब्याटिङ र बलिङमा चुक्दा १ सय १ रनको फराकिलो हार बेहोर्न बाध्य बन्यो । त्यसैगरी तेस्रो खेलमा पनि हार ब्यहोरेको नेपाललाई चौठो तथा अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध गर या मरको खेलमा नेपालका सामु जित बाहेक अन्य बिकल्प थिएन । तर जित्नै पर्ने दवावमा खेलेको नेपाल अनुभवी नेदरल्याण्ड्सविरुद्ध कुनै पनि समय हावी हुन सकेन फलस्वरुप नेपाल अन्तिम तथा महत्वपूर्ण खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भयो ।
विश्वकप छनौटको पहिलो भेटमै जिम्बावे, वेस्ट इन्डिजजस्ता दिग्गज टेष्ट राष्ट्रसँग खेल्न पाउनु नेपाली टोलीका लागि जित्नुभन्दा पनि अनुभव प्राप्त गर्ने गतिलो अवसर थियो । नेपाली क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म टेस्ट मान्यताप्राप्त टोलीसँग खेलेको थिएन । सोही कारण नेपाल ती टेष्ट राष्ट्रसँग अनुभव बटुल्ने र एसोसिएट राष्ट्रलाई हराएर सुपर सिक्समा स्थान बनाउने ध्याउन्नमा थियो । तर लक्ष्य त्यति सजिलो भने थिएन । नेदरल्यान्ड्सले पछिल्लो ४ वर्ष सुपर लिगको अनुभव लिदै टेस्ट मान्यताप्राप्त टोली भारत, पाकिस्तान, श्रीलंका जस्ता ठुला राष्ट्रहरुसँग खेलिसकेको थियो । सोही कारण नेपालले आफ्नो क्षमता अनुरुप समुहमा अमेरिका बाहेक अन्य कुनै पनि बलिया राष्ट्रलाई हराउन असमर्थ रहयो ।
नेपाली टोलीले जिम्बाब्वे, वेस्ट इण्डिज र नेदरल्याण्ड्सविरुद्ध शर्ट बल र बाउन्सर बल खेल्न सकेनन् । अधिकांश ब्याटर शर्ट बलकै सिकार भए । जिम्बाब्वे र वेस्ट इण्डिजविरुद्ध समस्या खेपिसकेको टोलीले अन्तिम तथा महत्वपूर्ण खेलमा केही सुधार गर्ने आशा गरिएको थियो । तर आशा गरिएकै खेलमै नेपाल बलिङ र ब्याटिङमा चुक्दा सुपरसिक्सको दौडबाट बाहिरिएको हो ।
यस्तैगरी प्रतियोगितामा नेपालको अर्को कमजोर पक्ष फिल्डिङ पनि रह्यो । फिल्डिङमा बारम्बार गल्ती दोहोर्याइरहदा विपक्षी टोलीले त्यसको फाइदा उठाई रहयो । नेपालको तेस्रो कमजोर पक्षका रुपमा अवे मैदानमा खेल्ने अनुभवको कमी हुनु पनि एक देखियो । नेपालले पछिल्ला सबै उपलब्धि घरेलु मैदानमै प्राप्त गरेको थियो । तर जिम्बाब्वेको नयाँ परिवेसमा नेपाली टोलीले भिज्नै सकेन । सोही कारण नेपालको सुपर सिक्स यात्रा पूरा हुन सकेन । सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले अब प्लेअफमा दुई खेल खेल्नेछ । प्लेअफ सातदेखि दशौं स्थानसम्मका लागि हुनेछ ।





























प्रतिक्रिया