उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लागू औषधको प्रयोगले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् ।
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, समाज र राष्ट्रको लागि हानिकारक भएको भन्दै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्ने बताए ।
उनले भने, ‘लागू औषधको उपयोग, कारोवार र वृद्धि चिन्ताजनक छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा, व्यक्ति समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्छ । स्वस्थ, सभ्य, अपराध मुक्त समाज निमार्ण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यसले थप चुनौती सिर्जना गरेको छ ।’
गृहमन्त्री श्रेष्ठले जनताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न लागू औषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासीमा नियन्त्रण गर्न गृह मन्त्रालयलेलागू औषध ऐन २०३३ लाई कार्यान्वयनको नेतृत्व गरिरहेको उल्लेख गरेका छन् । उनले २०२३ लगायत अन्य थुप्रै नीति, ऐन तथा कार्ययोजनाहरुमा लागू औषधको माग घटाउने र आपूर्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए ।
यस्तै, उनले लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएको हुदाँ लागूऔषधको उत्पादन विक्रि वितरण, उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुनस्थापना र जनचेतनालाई अभियानको रुपमा सञ्चालन गरि तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रुपमा सञ्चालन गर्न आवश्यक भएको बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘कानून, नीति र रणनीतिहरुलाई समसामयिक रुपमा संशोधन गर्न मन्त्रालयले काम सुरुवात गरेको छ । लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहु सरोकारको विषय भएको हुनाले सरोकारवाला निकायको सहकार्यबाट लागूऔषधको उत्पादन विक्रि वितरण, उपचार तथा पुर्नस्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुर्नस्थापना र जनचेतनालाई अभियानको रुपमा सञ्चालन गरि तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रुपमा सञ्चालन गर्न आवश्यक छ । यसको नियन्त्रणमा आवश्यक काम गर्न मन्त्रालय प्रतिवद्ध रहेको छ ।’































प्रतिक्रिया