कोशी प्रदेश सरकारले विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते १ बजेलाई विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने तयारी गरेको छ।
सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यहाँ हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा १ सीट रहेको जसपा जेठ १७ गते सरकारबाट फिर्ता भएको थियो। जसपाकी निर्मला तावा लिम्बू स्वास्थ्यमन्त्री थिइन्।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएका ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले विशेष अधिवेशन बोलाउन सिफारिसको तयारी गरेको हो। मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै प्रदेश प्रमुखलाई अधिवेशन बोलाउन सिफारिस गरिनेछ।
माओवादी केन्द्रले पनि हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले जेठ ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।
अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ। ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्याउन ४७ सीट आवश्यक पर्दछ ।





























प्रतिक्रिया