अहिलेको आवश्यकता हेरेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

अहिलेको आवश्यकता हेरेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थतन्त्रको विश्वास जोगाउन वित्तीय उपकरणहरुलाई अहिलेको आवश्यकता अनुसार प्रयोग गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरुलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताए । उनले कर्जाको आधारदर डेढ वर्ष यता साढे १२ प्रतिशतबाट साढे ८ प्रतिशतमा झरेको बताए । बचतको व्याजदर घटाउँदा अर्थतन्त्रमा चुनौति थपिने र वित्तीय साधनको परिचालनको आधार नै बचत भएकाले बचत निरुत्साहीत हुने गरी मौद्रिक नीति नआउने समेत भट्टले स्पष्ट पारे । उनले अर्थतन्त्रलाई सन्तुलित बनाउने गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट कर्जाको पुर्नतालिकिकरण गर्ने, ब्याजलाई पूँजीकरण गर्ने, नगद प्रवाहमा समस्या देखिएकाले पुरानो धितोमा थप २० प्रतिशत कर्जा दिनुपर्ने, व्याजदर कम गर्न र पुनर्कर्जामा सबै क्षेत्रलाई समावेश गर्ने व्यवस्था सहितको मौद्रिक नीति ल्याउन माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कर्जाको ब्याजदर कम गर्न बैंकहरुलाई आधार दर घटाउन निर्देशित गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताए । उनले ब्याजको अन्तर ३ प्रतिशतमा कायम गर्ने र उद्योग, व्यवसायलाई सहयोग गर्ने तर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताए ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले व्यवसायिक रुपमा बजारले निर्धारण गरेको ब्याजदरलाई स्वीकार गर्न आग्रह गरे । उनले मुद्रास्फीति भन्दा कम हुने गरी निक्षेपको ब्याजदर निर्धारण गर्न नसकिने स्पष्ट पारे ।

विगतमा १५/१६ प्रतिशत रहेको ब्याजदर अहिले एकल अंकमा झरेकाले बजारको आवश्यकता र माग अनुसार नै ब्याजदर निर्धारण भएको ढुङ्गानाले बताए । उनले अहिले उद्योगी व्यवसायीहरुले माग गरे अनुसार ५/६ प्रतिशतमा कर्जाको ब्याजदर कायम गर्न नसकिने पनि स्पष्ट पारे ।

Skip This
Skip This
Logo