सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिज नेदरल्यान्ड्ससँग पराजित

सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिज नेदरल्यान्ड्ससँग पराजित

केन्द्रबिन्दु
0
Shares

नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजमाथि जित निकालेको छ। अलराउन्डर लोगन भान बीक हिरो बनेपछि नेदरल्यान्ड्सले सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई पराजित गरेको हाे।

सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिँएको थियो। लोगन भान बीकलाई पहिलो बलमै वेस्ट इन्डिजका जोनसन चाल्र्सले छक्का प्रहार गरे। दोस्रो बलमा भान बीकले एक रन दिए। तेस्रो बलमा पनि एक रन दिएपछि वेस्ट इन्डिजको जितको सम्भावना लगभग सकिएको थियो।चौँथो बलमा चालर्स क्याच आउट भएका थिए। पाँचौं बलमा शेफर्ड क्याच आउट भएपछि नेदरल्यान्ड्स सुपर ओभरमा विजयी भएको थियो।

त्यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३० रन बनाएको थियो। लोगन भान बिकले जेसन होल्डरलाई ६ बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडेका थिए। सुपर ओभरको पहिलो बलमा भान बीकले जेसन होल्डरलाई चौका प्रहार गरे। दोस्रो बलमा भान बीकले होल्डरलाई छक्का हाने।

तेस्रो बलमा उनले चौका प्रहार गरे। चौँथो बलमा उनले छक्का प्रहार गरे। सुरुवाती चार बलमै २० रन जोडेको थियो। पाँचौं बलमा छक्का हानेपछि जित पक्का जस्तै गराएको थियो । अन्तिम बलमा चौका हानेपछि ३० रन बनाएको थियो।

नियमित खेलमा वेस्ट इन्डिजले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । जितको लागि अन्तिम बलमा एक रन चाहिँदा लोगन भान बिक क्याच आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेदरल्यान्ड्सको जितमा तेजा निडामानुरुले ७६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ११ रनको शतकीय इनिङ खेले। उनको यो ओडिआई करिअरको दोस्रो शतक हो। 

अन्तिम ६ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ९ रन चाहिँएको थियो। पहिलो बल नै भान बीकले अल्जारी जोशेफलाई चौका प्रहार गरे। दोस्रो बलमा एक रन लिदा तेस्रो बलमा आर्यान दत्त १६ रनमा आउट भए।

अन्तिम बलमा जितको लागि एक रन चाहिँदा भान बीक जेसन होल्डरबाट क्याच आउट भएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो । बीकले १४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

कप्तान स्कट एडवार्ड्सले ४७ बलमा ६ चौका र १ छक्कासहित ६७ रन बनाए । पाँचौं विकेटका लागि स्कट एडवार्ड्स र तेजाले ९० बलमा १ सय ४३ रनको सानदार साझेदारी गरेपछि जितको सम्भावना देखाएका थिए ।

वेस्टइन्डिजका रोश्टन चेशले ३ तथा अकिल हुसैनले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो। 

Logo