दीपाश्री निरौलाको पक्षमा बोल्ने कलाकारहरु, कसले के भने ?

दीपाश्री निरौलाको पक्षमा बोल्ने कलाकारहरु, कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कलाकार तथा चलचित्र निर्माता, निर्देशक दीपाश्री निरौलाले एक कार्यक्रममा राजेश हमालको ‘महानायक’को उपाधीमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको ओइरो लागेको छ । यस विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

यस विषयमा राजेश हमाल आफैले पनि केन्द्रबिन्दु अनलाईन टि.भी.मार्फत आफ्नो अभिव्यक्ति दिएका छन् । कुरा यत्तिमै सकिएन, दीपाश्रीले रुँदै सामाजिक सञ्जालमा माफी पनि मागिन् । त्यसपछि पनि दीपाश्रीलाई गालि गर्ने क्रम रोकिएको छैन । कतिपयले उनको चलचित्र समेत बहिष्कार गर्ने भनेका छन् । यिनै विषयलाई लिएर अहिले केही कलाकारहरु दीपाश्रीको पक्षमा बोलिरहेका छन् ।

दिपकराज गिरी

अभिनेत्रीहरूले अन्तर्वार्तामा बोलेका कुराहरू लगातार विवादमा तानिन थालेपछि कलाकार दिपकराज गिरीले इन्टरभ्युदेखि होशियार रहनु पर्ने बेला आएको बताएका छन् । उनले कलाकारहरुलाई विवादमा ल्याउने काम टेडा मेडा प्रश्न गर्ने पत्रकारहरुले गरिरहेकोले उनीहरुसँग सावधान रहनु पर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै गिरीले पत्रकारको नियत नबुझ्ने समस्याका कारण कलाकारहरु फन्दामा परिरहेको आशय व्यक्त गरेका छन् । इन्टरभ्यु दिँदा सेलेक्टिभ हुनु पर्ने उनले बताएका छन् ।

‘सबै पत्रकारको नियत राम्रो हुँदैन । ७० प्रतिशत त टी.आर.पी. र हेडलाइनको चक्करमा हुन्छन् । अनि किन हामी सधैँ उनीहरूको यो टी.आर.पी.को ट्रापमा परेर आफ्नो व्यक्तित्व कमजोर बनाइरहेका हुन्छौँ ? राम्रो नियत भएको, हेडलाइनमा जोड नदिने , सकारात्मक पत्रकारिता गर्ने साथीहरूलाई हामी कहिल्यै स्थान दिँदैनौ । इन्टरभ्युका लागि फोन आएमा खुशी होइन, होशियार होऔँ, सकेसम्म टारौँ, नसके पत्रकारसँग प्रशस्त छलफल गरेर आफू पूर्णरूपमा तयार भएर मात्रै इन्टरभ्यु फेस गरौँ आफ्नो व्यक्तित्व आधा घन्टाको इन्टरभ्युबाट स्वाह नपारौँ ।’

हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’

माग्नेबुढाले दिपाश्री निरौलाप्रति भइरहेको गालीगलौज बन्द गर्न आग्रह गरेका छन् । उनले कुनै विषयमा असहमति भए अथवा आलोचना गर्नु परे सभ्य भाषा प्रयोग गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले भनेका छन् ‘दीपा दिदीबाट गल्ती भएकै हो, माफी पनि मागी सक्नु भयो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस् ।’

उनले फेसबुक स्टाटसको सुरुमै लेखेका छन्,

‘आदरणीय दर्शकलाई मेरो अनुरोधः  बिगत केही दिनदेखि निरन्तर रुपमा निर्देशक र कलाकार दीपा दिदीमाथि तल्लो स्तरका गाली गलौज भईरहेका छन् । हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश दादासँग ब्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तिको सजायँ कति भन्ने पनि त होला नि । छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिने त ? दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाहिं पक्कै हो । अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठुलै दशा रैछ । उहाँ मनको दयालु हुनुहुन्छ, बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिनुहुन्छ, कोही कलाकार प्राबिधिकको दुःखमा पुगीहाल्नु हुन्छ, भलै बैगुन पनि होलान् । गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केहि गल्ति नहुँदा पनि “छ माया छपक्कै“ को ट्रेलर रिलिज हुँदा सुरुमै करिब १२०० नेगेटिभ कमेन्ट आए, “यिनीहरुको फिल्म् फ्लप भैहालोस्” “जोकरहरुको फिल्म कस्ले हेर्छ र ? आदी इत्यादि । (यहि कारणले म झण्डै दोश्रोपटक डिप्रेशनमा गएको थिएँ) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप हुँदा कुन तत्वलाई फाईदा पुग्दो रैछ ? मैले अहिलेसम्म बुझ्न सकेको छैन । त्यो तत्व (जो फेक आईडीसहित कमेन्टमा हाजिर हुन्छ) सँग सम्बन्धित ब्यक्तिलाई त मेरो भन्नु केही छैन । तपाईं जो साँच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । “छक्कापञ्जा टिमबाट माग्ने निकालौं” भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं, तर छुट्टा छुट्टै चलचित्र बनाउँदा कमजोर नबनोस्, हलमा आएका दर्शक निराश भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं । नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्रियस्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्क्रिप्टको लागि अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ । तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नु भएको अगाध माया र स्नेह शीरमा राखेको छु । केही गल्ति लेखेको भए तपाईं पनि माफ गरिदिनुहोला । जय माफ दिवस । जय नेपाली चलचित्र ।

प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले पनि यो विवादित विषयमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले शुभचिन्तक हो भने गल्ती सच्याउने र सकारात्मक ढंगले सहीमार्ग देखाउने अधिकार भएको तर अश्लिल गालि, गलौज र चरित्र हत्या नगरिदिन आग्रह गरेकी छिन् । उनी लेख्छिन् ‘चलिरहेको आदरणिय दीपा दिदीको विवादले हामी सबैको ध्यान आकर्षण भएको छ । यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु ।

कसैको तर्क, भाव या विचार आफूलाई चित्त नबुझे आवाज उठाउने अधिकार तपाईं सबैमा सुरक्षित छ । चित्त नबुझेको कुरा राख्नुस् , उहाँलाई सकारात्मक ढंगले सच्चाउनुस् । उहाँ लगायत हामी सबै तपाईंहरुबाट सिक्न चाहन्छांै । तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाई हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्यसैगरि, हामीबाट केही गल्ती भएमा हामीलाई सच्याउने र सकारात्मक ढंगले सहीमार्ग देखाउने अधिकार पनि यहाँहरुलाई छ । र त्यसको सम्मान पनि हामी गर्छौं । तर सच्चाउने क्रममा अश्लिल गाली, गलौज र चरित्र हत्या कृपया नगरिदिनुस् । एउटा गलत बोली या तर्कले कोही ब्यक्तिको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि ।

हाम्रो आफन्त, आफ्नै छोरा–छोरीले केही गल्ती गरे, हामी के मुख छोडेर, मनपरि अश्लिल गाली गर्छौं र ? गर्दैनौं नि । एउटा अभिभावकको नजरबाट सम्झाउँछौं, गल्ती औल्याउँदै अगाडी बढ्ने हौसला दिन्छौं , माफी मागे स्वीकार छौं । यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि । होइन र ? आखिरमा हामी सबै मानिस हौं । हाम्रो मानसिक स्वास्थ्य पनि प्रभावित हुन्छ, होइन र ? यो विषयमा ध्यान पुराइदिनुस् , विनम्र अनुरोध ।’

रेखा थापा

त्यस्तै अभिनेत्री तथा निर्मात्री रेखा थापाले कसैको अपमान तथा मानमर्दन हुने गतिविधि नगर्न सबैलाई सचेत गराएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी कहाँ अहिले सम्म कानूनी राज्य कायम छ । राज्य संरचनाहरूले काम गरिरहेका छन् । त्यसैले कानूनी राज्य भन्दा बाहिर छौं जस्तो गरी शब्दहरूको प्रयोग गर्नेहरूले सोच्नु आवश्यक छ । यो घटनाले हाम्रो समाज कता जाँदैछ ? भनेर हामीलाई एक पल्ट फर्किएर हेर्न बाध्य गराएको छ । अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइन्छ तर, आपत्तिजनक अपशब्द बोल्न, लेख्न पाईंदैन ।’

केकी अधिकारी

नायिका केकीले दीपाले कसैको चित्त नदुखोस् भन्नको लागि माफी माग्नु नै गल्ती भएको पनि बताएकी छिन् । उनले यस विषयमा आमालाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ । फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ । नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नु भो । अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो । सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउँछन् अनि मेरो मन भतभत पोल्छ भन्नु भो ।

म एकछिन घोत्लिएँ अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनु भो ? ल त्यो पनि पचाउने प्रयास गरुँला , अनि फेरि तपाईंले भयंकर गर्नु भो के, होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगो नी ।

गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त । अनि थाहा पाइ पाई यत्रो अपराध गरिदिने ? हामीलाई त्यस्तो अनुमती छ र ? यहाँ कुनै दीपा, पूजा , बर्षालाई गल्ती गर्ने छुट छैन है । भन्देको छु नी । मान्छे बन्ने कोशिस नगर्नु । ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है । मैले त्यस्तो केही लेखेको छैन । हाम्रो समाजकै समर्थनमा लेखेकी छु । मैले मरणासन्न हुने गरि गाली खान्न होला । मेरो चरीत्र जोगिन्छ होला ।’

सरिता लामिछाने

यस्तै कलाकार सरिता लामिछाने पनि गल्ती महशुस गरेर माफि माग्दा भद्दा गालि र अश्लिल कमेन्ट आएपछि मानिसको मन मस्तिष्कमा नराम्रो असर पर्ने बताएकी छिन् । उनले लेखेकी छिन् ‘केही समय यता कलाकार निर्देशक दीपाश्री निरौला जीले दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सन्जालमा धेरै नकारात्मक टिका टिप्पणीहरु देख्दा अत्यन्तै नरमाइलो लागेको छ । हिजो तपाईंहरुकै माया र साथले सफल भएकी एउटा कलाकारले आफ्नो गल्ती महशुस गरी माफी माग्दा पनि उहाँ माथि भद्दा गाली र अश्लिल कमेन्टहरु अझ रोकिएका छैनन् । कृपया एक पटक सोचिदिनुस् त उहाँको मन मस्तिस्कले अहिले के सोचिरहेको होला ? तपाईं हाम्रो सानो गल्ती अर्को एउटा जीवनको लागि घातक हुन सक्छ । तपाईं सम्पूर्ण दर्शकहरु हाम्रो लागि भगवान हो । सम्पूर्ण दर्शकहरुमा नमन ।’

Logo