मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन प्रस्ताव गरेपनि कोशी प्रदेश सभा अनिश्चित बनेको छ।
बिहीबार प्रदेश सभामा विश्वासको मत दिन कार्कीले गरेको प्रस्तावमाथि सांसदहरुले धारणा राखेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको थिएन। विश्वासको मत नपाउने संकेतपछि मुख्यमन्त्री कार्की र मन्त्रीहरु प्रदेशसभाबाट बाहिरिएका छन्।
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने नदिने विषयमा तटस्थ बसेको जसपाले रोष्ट्रममा बोल्न पनि अस्वीकार गरेको छ। सो पार्टीकी एकमात्र सांसद् निर्मला लिम्बूले बोल्नका लागि सभामुखले समय दिए पनि अस्वीकार गरेकी थिइन्।
एमाले सचिव योगेश भट्टराईलाई पहिचान पक्षधरहरुले इलाममा अवरोध गरेका छन्। कोशी नामकरणको विपक्षमा रहेको आन्दोलनरत पक्षले भट्टराई सवार गाडीलाई रोकेर नाराबाजी गरेका थिए।
पार्टी रुपान्तरणका लागि जनताको राय बुझ्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा भदौको दोस्रो सातादेखि देश दौडाहामा निस्कने भएका छन्।
३३ दिनसम्म देशको गाउँगाउँमा पुगेर जनताको राय बुझ्ने उनले दोस्रो चरणमा दशैं तिहारपछि अर्को अभियान सुरु गर्ने बताएका छन्।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनाले गैरकानुनीरुपमा पक्राउ गरेको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका छन्। आफ्नो बिनासर्त रिहा हुनु पर्ने मागसहित मीनबहादुर गुरुङ, सुधीरकुमा शाह र धर्मप्रसाद गौतम सर्वोच्च पुगेका हुन्। निवेदनमाथि शुक्रबार सर्वोच्चमा प्रारम्भिक सुनुवाई हुनेछ।
निजी भ्रमणका लागि काठमाडौं आएका चिनियाँ धनाढ्य ज्याक मा पाकिस्तान लागेका छन्। मंगलबार दिउँसो बंगलादेशबाट काठमाडौं आएका उनी हङकङ बिजनेश एभिएसनको चार्टर जहाजबाट पाकिस्तान उडेका हुन्। काठमाडौं बसाइँमा उनले कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वाएरलगायतको भ्रमण गरेका थिए।
पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनस्र्थापित गरिएको छ। नापतौलका लागि भन्दै सोमबार बिहान २ बजे झिकिएको जलहरी बुधबार साँझ ६ बजेदेखि पुनस्र्थापित गर्न थालिएको थियो। करिब ११ घण्टा लगाएर जलहरी पुनः जडान गरिएको हो।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरीमा कसैको नाम नकुँदिएको बताएको छ। जलहरीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको चर्चा भइरहेका बेला कोषले कसैको नाम नरहेको स्पष्ट पारेको हो।
जेठ पहिलो सातादेखि फैलिएको डेंगीले धरानमा भयावहरुप लिएको छ। संक्रमणका कारण २ महिलाको मृत्यु भएको छ भने ५ सय बढी बिरामी परेका छन्। संक्रमणबाट धरान उपमहानगरका अधिकांश वडा प्रभावित बनेका छन्।
काठमाडौं महानगरपालिकाभित्रका संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयसरह पारिश्रमिक उपलब्ध गराउन मेयर बालेन शाहले निर्देशन दिएका छन्। शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेअनुसारको तलब स्केल नघटाइ दिनुपर्ने उल्लेख भएकाले कार्यान्वयन गर्न शाहको निर्देशन थियो।
बीस वर्षे पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनु पर्ने लगायत माग राखेर सार्वजनिक यातायातका व्यवसायी तथा मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, सना ढुवानी साधन, टेम्पो, माइक्रो बसलगायतका सवारी साधनसहित व्यवसायीहरुले आज काठमाडौंमा प्रदर्शन गरे।
इस्लाम धर्मावलम्बीले बिहीबार बकर ईद अर्थात् इदुल जोहा मनाएका छन्। देशैभरका मस्जिदमा नमाज पाठ गरी शुभकामना आदानप्रदान गरेर उनीहरुले पर्व मनाएका हुन्।आजै हिन्दु धर्मावलम्बीले भने हरिशयनी एकादशी पर्व मनाएका छन्। हिन्दुहरुले घरका तुलसीका मोठमा तुलसीको बिरुवा रोपेका छन्।
भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने नाममा मानव बेचबिखन बढेको भन्दै त्रिभुवन विमानस्थलसहित नाकाहरुमा कडाइँ गरिएको छ।
पछिल्लो एक वर्षमामात्रै भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काएको छ। यसमा पुरुषभन्दा महिला बढी छन्।
चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि जंगल ड्राइभ र डुंगा सफारीमा प्रतिबन्ध लगाएको छ। सूचना जारी गर्दै निकुञ्जले कच्ची वनपथहरु बिग्रने, जंगलभित्रका खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने लगायत समस्या देखाउँदै भ्रमण बन्द गरेको हो। जोखिम कम भएपछि पुनः पर्यटन गतिविधि सुरु हुने निकुञ्जको भनाइ छ।
साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा बन्दुकधारीको आक्रमणमा एक जना नेपाली सुरक्षागार्डको मृत्यु भएको छ। बन्दुकसहित कारमा आएका व्यक्तिलाई रोक्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। बन्दुकधारी पनि सुरक्षा कारबाहीमा मारिएका छन्। मृतक नेपाली सुरक्षागार्डको पहिचान खुल्न सकेको छैन।
एसियाली विकास बैंक एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ। आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले सो रकम ऋण सहयोग गर्ने भएको हो।
प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ। ट्राफिक जाँच भइरहेका समय कार नरोकेको भन्दै प्रहरीले चालक १७ वर्षीय किशोरलाई गोली हानेको थियो। आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।
फिफा वरीयतामा नेपाल एक स्थान तल खस्किएको छ। भारतमा जारी साफ च्याम्पियनसिपमा दुई खेलमा हार र एकमा जित निकालेको नेपाल १७५औं स्थानमा झरेको हो ।
दक्षिण एसियामा भारत एक सयौं स्थानमा छ। विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।































प्रतिक्रिया