सैलुन व्यवसायीद्वारा आफू खुसी शुल्क बृद्धी : कपाल काटेको १५०, दाह्री काटेको एक सय

सैलुन व्यवसायीद्वारा आफू खुसी शुल्क बृद्धी : कपाल काटेको १५०, दाह्री काटेको एक सय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को असर देखाउँदै उपत्यकाका सैलुन व्यवसायीहरुले आफू खुसी सबै प्रकारका सेवा शुल्कमा बृद्धी गरेका छन् । नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले गत असार १७ गते देखि सैलुन सेवाको १७ प्रकारको शुल्क बढाएको छ ।

अहिले समितिले निर्धारण गरेको नयाँ शुल्क उपत्यकामा लागू भइसकेको छ । कोरोना कहर भन्दा अगाडि उपत्यकामा कपाल काटेको शुल्क एक सय रुपैयाँ थियो । अहिले बढाएर १५० रुपैयाँ पु¥याइएको छ । यस्तै दाह्री काटेको शुल्कमा भने शतप्रतिशतले बढाएर ५० रुपैयाँबाट एक सय रुपैयाँ कायम गरिएको छ ।

कपाल डिजाइन गरेको ५० देखि एक सय रुपैयाँसम्म, दाह्री डिजाइन गरेको ५० देखि ७० रुपैयाँ, कपालमा स्याम्पो गरेको २० देखि ५० रुपैयाँ, फेसियल गरेको दुई सय तथा कपाल कालो गरेको एक सयदेखि १५० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

अहिलेसम्म काठमाडौं उपत्यकामा करिब ३० हजार भन्दा बढी सैलुन सञ्चालनमा रहेका छन् । यी व्यवसायीलाई कोरोना महामारीबीच व्यवसाय धान्न र परिवार पाल्नका लागि सुरक्षा प्रवन्धसहित सेवा दिनु पर्ने भएकाले शुल्क बढाएको नेपाल नाइ संघ काठमाडौं उपत्यकाका अध्यक्ष राजेश ठाकुरले बताए ।

सरकारले सैलुन व्यवसायलाई जोखिमको क्षेत्रमा राखेको तर लकडाउनको अवधिमा तथा अहिले लकडाउन खुकुलो भएपछि पनि कुनै राहतको प्याकेज नदिएको अनामनगरमा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका सत्यनारायण ठाकुरको गुनासो छ । सरकारले सैलुन व्यवसायीलाई पनि केही राहत दिएमा सहज हुने थियो । उनले भने,‘कोरोनाबाट जोखिमको क्षेत्र भएकाले पनि मानिसहरु पनि सैलुनमा कपाल काट्न आउन डराउने गरेका छन् । हुन पनि कोरोना सैलुन व्यवसायी तथा ग्राहकमा कोरोना भएको पाइयो भने हजारौं जनामा सर्न सक्ने खतरा रहको छ ।’

अहिलेसम्म काठमाडौं उपत्यकामा करिब ३० हजार सैलुनहरु सञ्चालनमा रहेता पनि आधाभन्दा धेरै सैलुन भारतीय नागरिकहरुको रहेको पाइन्छ ।

 

Logo