विपदमा परेकाको उद्धार र राहत प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विपदमा परेकाको उद्धार र राहत प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपदमा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनर्स्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्नसमेत सम्बद्ध निकायलाई आग्रह गरे।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पुर्याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न परिषद्का सदस्यहरुलाई निर्देशन दिएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएको र नागरिकले समस्या भोगिरहेका तर्फ ध्यानाकर्षण गराउँदै राहत र उद्धार कार्य चुस्त बनाउन निर्देश गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटना भएको समयमा तत्कालै हेलिकप्टर नपुग्न सक्नेतर्फ इङ्कित गर्दै पहिले नै सम्भावित जोखिम क्षेत्रको नजीक राहत सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याए । “राहत तथा उद्धारमा कुनै कमजोरी नहोस्, सामग्रीहरु जिल्लामा थुप्रिने अवस्था नरहोस्, तत्काल प्रभावितहरुले प्राप्त गर्न सकून्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पोखरेलले भने।

विपद्को राहत, उद्धार तथा आवश्यक व्यवस्थापकीय कार्यमा सरकारले आर्थिक अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक व्यवस्थापनमा कमी हुन नदिन अर्थमन्त्री डा युवराज खतिवडालाई निर्देशन दिएका छन् । उनले बाढी–पहिरोका कारण अवागमनमा समस्या परेको क्षेत्रमा वैकल्पिक मार्ग वा बेलिब्रिज निर्माण गरी सञ्चालन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको पोखरेलले बताए।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद् व्यवस्थापनमा हाल भइरहेको कामको सराहना गर्दै जोखिम न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षाका लागि दीर्घकालीन रणनीति निर्माण गरी लागू गर्न सुझाव दिए । उनले प्रभावित व्यक्तिहरुको उद्धार, राहत तथा आश्रयस्थलको व्यवस्थापन चुस्त पार्नसमेत आग्रह गरेको पोखरेलले जानकारी दिए।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विपद् व्यवस्थापन कार्य अन्तर्गत हालसम भए गरेका गतिविधि र जोखिम क्षेत्रको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए भने गृहसचिव महेश्वर न्यौपानेले हाल मनसुनजन्य विपद्पछि गृह मन्त्रालयले राहत तथा खोज उद्धारमा गरिएका कामकारवाहीका बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्रीको अध्यक्षता रहने उक्त परिषदमा नेपाल सरकारका सबै मन्त्रीहरु, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति र मन्त्रालयका सचिव, तीनजना मनोनीत व्यक्ति सदस्य रहने प्रावधान छ । प्राधिकरणका प्रमुख भने परिषद्को सदस्यसचिव हुन् । बैठकमा आमन्त्रित रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको समेत सहभागिता थियो ।

गत बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । अहिले सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ । बेपत्ता भएका व्यक्तिको खोजीमा सबै सुरक्षा अङ्ग परिचालन गरिएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीका अनुसार बिहीबार र शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी–पहिरामा परेर ४४ जनाको मृत्यु भएको र ३६ भन्दा बढी अझै बेपत्ता छन् ।

Logo