प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन्।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए।आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए।
‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ। सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ। सैन्य गठबन्धनमा तटस्थ छ।’
उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए।‘भारतसँग हाम्रो दुई तिहाइ व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन् । हाम्रो घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘पारवहनका लागि तेस्रो मुलुकबाट हुने व्यापार मात्रै चीनबाट हुने व्यापारको पनि हिन्दमहासागर मार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यकता छ ।’





























प्रतिक्रिया