काभ्रे ।
तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन् ।
एक महिना यता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । उनीहरूमध्ये हाल १४४ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनले भने, “तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ ।” तेस्रो मुलुकबाट फर्के लगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा बसेका काभ्रेलीलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।
पोष्टका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नागरिकमा धुलिखेल नगरपालिकाका ३३, बनेपाका ३५, पनौतीका ३३, मण्डनदेउपुरका १५, पाँचखालका १७, नमोबुद्धका १२ तथा रोशी गाउँपालिकाका १४, महाभारतका तीन, चौँरीदेउरालीका आठ, भुम्लुका छ, बेथानचोकका आठ, तेमालका १७ र खानीखोलाका चार रहेका छन् । यहाँका १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन छन् भने धुलिखेल, बनेपा र पाँचखाल नगरमा २७ आइसोलेशन श्यया तयारी अवस्थामा रहेको छ ।
हालसम्म विदेशबाट आएका स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए। उनका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टिन सम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइनेछ । “यसका लागि स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरह सुविधा भएको व्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ”, उनले भने।
उनका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधा सम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नु पर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट काभ्रेली आउनेक्रममै रहेकाले स्थानीय तहको क्वारेन्टिन थप ब्यवस्थित गर्दै प्रत्येक क्वारेन्टिन १०० बेड क्षमतामा विस्तार गर्न थालिएको छ । भारत लगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।
तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए । उनका अनुसार हालसम्म भारत लगायत विदेशबाट फर्केका ६३७ पुरुष र १३३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । “भारत लगायत तेस्रो मुलुकबाट एकैपटक नआउने भएकाले हाल व्यवस्थित क्वारेन्टिन पर्याप्त छ, तर पनि सङ्क्रमण फैलिने क्रममा रहेकाले बेड सङ्ख्या र क्वारेन्टिन थप क्षमताको बनाउने तयारीमै छौँ”, उनले भने। मजदुरी लगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क थियो ।रासस





























प्रतिक्रिया