पूर्वमुख्यमन्त्री राई र सांसद थापाको जोडीलाई ब्याडमिन्टनकाे उपाधि

पूर्वमुख्यमन्त्री राई र सांसद थापाको जोडीलाई ब्याडमिन्टनकाे उपाधि

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लीलबहादुर थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले नेताद्वय दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाईनलमा २१–१७, २१–१९ ले पराजितगर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाको जोडी तथा पूर्व प्रहरी अघिकारी नवराज सिलवाल र पूर्वमन्त्री भानुभक्त ढकालको जोडी संयुक्त तेश्रो भए ।

नेकपा एमालेनिकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको फाईनल प्रवेश गर्ने क्रममा राजेन्द्रकुमार राई र लीलबहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेका थिए ।

बिजयी खेलाडीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमल्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

जननेता मदन भण्डारीको ७२औं जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रियसभा, प्रतिनिधि सभा र प्रदेशसभा सदस्य एवं मन्त्रीहरु गरी ६४ जोडीको सहभागिता रहेको थियो ।

Logo