जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छः उपेन्द्र यादव

जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिकरूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताएका छन्।

शिल्पीरदलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा बुधबार आयोजना गरिएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए। उनले भने, ‘जातीय विभेद गर्नेलाई समाजबाट, व्यवहारबाट पद्धति, रीतिरिवाज र चालचलनबाट जहाँ जुनरुपमा छ त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ।’

उनले जातीय विभेदलाई नेपालमा संवैधानिक र कानुनीरुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधका रूपमा लिएको बताउँदै यस्ता विभेद कानुनमा मात्र लेखेर नहुने धारणा राखे। अबको युगमा मान्छेलाई उसको क्षमता, योग्यता, चरित्र र उसले गरेको योगदानका आधारमा हेरिने भएकाले कुन जातमा जन्म्यो, कुन कूलमा जन्म्यो भनेर हेर्ने युग नभएकोसमेत बताए।

समाजमा विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए। जबसम्म यी विभेद र भेदभाव कायम रहन्छन् तबसम्म खबरदारी अभियान निरन्तर जारी रहनेसमेत अध्यक्ष यादवले जानकारी गराए।

Logo