काठमाडौं ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान तथा सीमादेखि मुलुकभर लकडाउन गरिएको थियो । यसले गर्दा बैदेशिक रोजगारीका लागि खाडी मुलुक लगायत अन्य तेस्रो मुलुकमा जाने नेपाली रोकिएका थिए ।
सरकारले कोरोनाको प्रभावले करिव चार महिनासम्म वैदेशिक रोजगारीको लागि अन्तर्राष्ट्रिय उडान बन्द भएकोले विदेश जानको लागि श्रम स्वीकृत लिएर तयारी अवस्थामा रहेकाहरु नेपालमा नै थन्किएर बसेका थिए । गत शुक्रबार सरकारले बिदामा फर्केका तथा नयाँका लागि प्रक्रिया पुर्याएर बैदेशिक रोजगारीमा पठाउने निर्णय गरेको थियो ।
सरकारले लकडाउनको अवधिमा नै वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको १० दिनमा विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारको लागि विभिन्न देशको चार्टड फ्लाइटमार्फत १६ सय ५४ जना विदेश गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार गत असार १७ गते देखि शुक्रबारसम्ममा १४ सय ६६ जना पुरुष र १ सय ८८ जना महिला विभिन्न देशमा रोजगारीको लागि गएका छन् । जसमा अमेरिकामा ७७७ जना, जापानमा २६८ जना, कतारमा १८० जना, मलेसियामा १४७ जना, कुवेतमा ५५ जना, बहराइनमा २० जना र अन्य मुलुकमा गरी १६ सय ५४ जना नेपाली विदेशिएका छन् ।
वैदेशिक रोजगारीमा जानेका लागि सरकारले श्रम स्वीकृति दिने अख्तियारी दिएकाले प्रक्रिया मिलाएर श्रम स्वीकृति दिने तथा विदेशी मुलुकले रोजगारीको लागि बोलाएका वा जानै पर्ने आवश्यकतालाई हेरेर विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारको लागि चार्टड उडानमा नै उनीहरुलाई पठाउन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।
उनका अनुसार रोजगारदाता कम्पनी तथा गन्तब्य मुलुकले स्वीकृत गरेकालाई श्रम स्वीकृति दिएर सम्बन्धित देशमा रोजगारीका लागि पठाउन सुरु गरेको छ । उनले भने, ’विदामा नेपाल फर्किएका र नयाँ रोजगारीमा जानेहरु श्रम स्वीकृति लिएर जाने गरेका छन् ।’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबारदेखि श्रम स्वीकृती दिन सक्ने अख्तियारी प्रदान गरेको थियो । नयाँ कामदारको हकमा भने सम्बन्धित रोजगारदाता मुलुकले लिन्छु भनेपछि सबै प्रक्रिया सकेर मात्रै श्रम स्वीकृति दिईने गाइडलाईन बनाएर वैदेशिक रोजगार विभागमा पठाएपछि सोही अनुसार काम हुने गरेको छ ।अहिले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित रहेका कारण चार्टड गरेरै नेपाली कामदार पठाउने गरिको छ ।
सरकारले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशनपछि विभागले गत फागुन ३० देखि वैदेशिक रोजगारीमा जाने र विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । यसरी श्रम स्वीकृती रोकिए पछि २ लाखको हाराहारीमा मागपत्र रहेको तथा २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।































प्रतिक्रिया